जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
 
                                            हेल्थपत्र
 
                                    राँझा,। अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए ।
“हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ”, डा नेपालले भन्नुभयो, “मुटुरोगबाट जोगिन सावधानी नै उत्तम विकल्प हो ।” मुटुरोग लाग्नेबित्तिकै हृदयघात नहुने भन्दै डा नेपालले मुटुरोगसम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनुपर्ने बताए। लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्ने हो भने बिरामीलाई बचाउन सकिने उनको भनाइ छ । 
उच्च रक्तचाप, मधुमेह, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको उल्लेख गर्दै डा नेपालले शरीरका प्रत्येक अङ्गको माग र वितरणमा असन्तुलन हुँदा अङ्गहरूले कुनै न कुनै लक्षण देखाउने गरेको बताए ।
उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाइ सरेर घाँटी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज हुने, मुटुको धड्कन छिटो चल्ने, दौडिँदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए । 
नेपालगञ्जका स्वास्थ्यकर्मी जीवन शर्माले पछिल्लो समयमा मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै हुने गरेका कारण मुटुलगायत रोग बढ्दै गएको उल्लेख गरे।
 “खाना मीठो, चिल्लो र मसालादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने मानिसको दैनिकी बनेको छ”, उनले भने, “मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन्, तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ ।”
जीवनशैली, वातावरण र मानिसको स्वास्थ्य एकापसमा निकै घनिष्ठ सम्बन्ध भएको उल्लेख गर्दै शर्माले मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा मुटु लगायतका रोग देखिने गरेकोले यसबाट छुटकारा पाउन जीवनशैलीमै पुनः परिवर्तन गरेमा मात्र सम्भव हुनेमा जोड दिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक
 
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                
                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                            