आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
हेल्थपत्र
काठमाडौं, २५ वैशाख । सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विभिन्न विश्वविद्यालयका उपकुलपति पदमा नयाँ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै आठ विश्वविद्यालयका रिक्त पदका लागि दरखास्त मागेको हो।
सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालय का रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ।
समितिले २०८३ वैशाख २४ गते स्वीकृत “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन मागिएको जनाएको छ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै सम्बन्धित कार्यविधि समेत मन्त्रालयले सार्वजनिक गरेको छ।
यद्यपि शिक्षा क्षेत्रका विश्वविद्यालयमा नियुक्ति प्रक्रिया अघि बढिसकेको अवस्थामा स्वास्थ्य क्षेत्रअन्तर्गतका विश्वविद्यालय तथा प्रतिष्ठानमा भने अझै प्रक्रिया सुरु हुन सकेको छैन।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तथा प्रमुख पद रिक्त रहे पनि सरकारले हालसम्म नयाँ नियुक्तिका लागि औपचारिक प्रक्रिया अघि नबढाएको स्रोतले जनाएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक