शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औँ वार्षिकोत्सव सम्पन्न
हेल्थपत्र
काठमाडौं, ११ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४औँ वार्षिक उत्सव शुक्रबार विशेष समारोहबीच भव्यताका साथ सम्पन्न भएको छ।
केन्द्र परिसरमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रकी कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले गत एक वर्षमा केन्द्रले उल्लेखनीय उपलब्धि हाँसिल गरेको बताइन्। उनले २०८२ वैशाखदेखि २०८२ चैत मसान्तसम्म २१३ जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिइन्।
उनले यस अवधिमा केन्द्रले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, विशेषज्ञ जनशक्ति परिचालन तथा प्रत्यारोपण सेवाको पहुँच विस्तारमा महत्वपूर्ण प्रगति हाँसिल गरेको बताइन्। वार्षिक समीक्षा प्रस्तुत गर्दै डा श्रेष्ठले केन्द्रको सफलता सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीको निरन्तर मेहनतको परिणाम भएको बताइन् ।
उनले केन्द्रमा कार्यरत चिकित्सक, नर्स, प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड तथा सरसफाइ कर्मचारीहरूको निरन्तर प्रतिबद्धता र योगदानले मात्रै यो उपलब्धि सम्भव भएको बताइन् ।
वार्षिकोत्सवको अवसरमा उनले सबै कर्मचारी तथा सेवाग्राहीलाई शुभकामना दिँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
डा. श्रेष्ठले केन्द्रको सेवा विस्तारमा भौतिक पूर्वाधार अभाव चुनौतीको रूपमा रहेको बताइन्। केन्द्रको नाममा एक इन्च पनि आफ्नै जग्गा तथा छुट्टै भवन नभएको उल्लेख गर्दै थप सेवा विस्तार गर्न कठिनाइ भइरहेको उनले भनिन् ।
सेवा विस्तारका लागि आवश्यक जग्गा र भवनको व्यवस्था गरिदिन सम्बन्धित निकाय तथा सरोकारवालासँग आग्रह गर्दछु,” उनले भनिन्।
कार्यक्रमका क्रममा केन्द्रमा मिर्गौला प्रत्यारोपण सर्जरी विषयको एकवर्षीय फेलोशिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका डा विकास खड्का लाई प्रमाणपत्र वितरण गरिएको थियो।
समारोहका प्रमुख अतिथि तथा मानव अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा केशर बहादुर ढकालले केन्द्रका कर्मचारीहरूले बिरामीको उपचारमा पुर्याएको सेवा र योगदानको उच्च प्रशंसा गरे ।
उनले केन्द्रको विकास र सेवा विस्तारका लागि आफू सधैं सकारात्मक र प्रतिबद्ध रहेको बताए। “केन्द्रको समग्र विकासका लागि म सदैव प्रतिबद्ध छु,” ढकालले भने ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट सेवा गर्ने कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो।
२०८२ सालमा उत्कृष्ट सेवा गरेबापत डा निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बलराम पाँउ उत्कृष्ट कर्मचारी घोषित भए ।
त्यसैगरी, नर्सिङ इन्चार्ज एलिसा श्रेष्ठ लाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक