बिरामीको आकर्षण बन्दै आयुर्वेदिक चिकित्सालय नरदेवी अस्पताल

हेल्थपत्र

काठमाडौँ, । आयुर्वेदिक चिकित्सालय नरदेवीले स्वास्थ्य सेवा थप गरेसँगै बिरामीको भिड बढ्न थालेको छ । अस्पतालको सेवामा सुधार गरी थप सेवा विस्तार भएसँगै अस्पतालमा बिरामीको भिड बढ्न थालेको हो । पछिल्लो समय अस्पतालमा दैनिक तीन सय बिरामी ओपिडीमा आउने गरेका छन् ।
आयुर्वेदिक अस्पताल नरदेवीका निर्देशक डा प्रदीप केसीले केही समयअघिसम्म नरदेवी चिकित्सालयमा दैनिक २० देखि २५ जना बिरामी मुस्किलले आउने गरेको बताए ।
अस्पतालमा हाल शल्य चिकित्सा अन्तर्गत स्पाइनल एनेस्थेसिया सेवा थप गरिनुका साथै क्षारसूत्र चिकित्सा सेवाको विस्तार, पञ्चकर्म चिकित्सा सेवामा डिलक्स सुविधासहित स्तरोन्नति गरिएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख भएको जानकारी दिए।
निर्देशक डा केसीले अस्पतालमा अकुपन्चर चिकित्सा सेवा विस्तार गरिने बताए । उनले फिजियोथेरापी सेवा, अस्पताल परिसरमै बैङ्किङ सेवा विस्तार, फार्मेसी सेवा, जेष्ठवासादि मिश्रण औषधी उत्पादन, जडीबुटी उद्यान निर्माण, पाकशाला व्यवस्थापन थप गरिएको बताए। आयुर्वेदिक चिकित्सालय नरदेवीमा केही वर्षअघिसम्म फोहोरमैलाका कारण उपचार गर्न जाने बिरामी र कुरुवा नै थप बिरामी हुने सम्भावना हुन्थ्यो तर पछिल्लो समय नरदेवी अस्पतालको वातावरण फेरिएको छ ।
अस्पतालमा आयुर्वेदिकका विभिन्न स्वास्थ्य सेवा विस्तार भएसँगै चिकित्सालयमा बिरामीको सङ्ख्या अप्रत्याशित रूपमा बढेको हो । केही वर्षअघिसम्म चिकित्सालयमा विकास समितिका कर्मचारीलाई तलब खुवाउन मुस्किल थियो तर हाल अस्पतालको आम्दानीबाट चिकित्सक र कर्मचारीलाई योगदान र समानतामा अधारित प्रोत्साहन भत्तासमेत उपलब्ध गराउन थालिएको छ ।
अस्पतालका निर्देशक डा केसीले नेपालमा आयुर्वेदिक चिकित्साप्रति आकर्षण बढ्दै गएकाले पनि अस्पतालमा बिरामीको चाप बढेको बताए। सिमित जनशक्तिबाट काम गरिरहेको जानकारी दिँदै उनले अहिले कुनै पनि सार्वजनिक बिदामा अस्पताल बन्द नहुने बताए ।
उनले नसर्ने रोगको जोखिम र तनाब व्यवस्थापनमा आयुर्वेदिक उपचार विधि उपयोगी हुने भएकाले आयुर्वेद अस्पताललाई बिरामीले रुचाउने गरेको उल्लेख गरे। उनले आयुर्वेद जडीबुटी मात्र नभई जीवनशैली भएकाले बिरामी आयुर्वेदप्रति आकर्षित भएको जानकारी दिए ।
अस्पतालका अकुपन्चर चिकित्सक जया सत्यालले आयुर्वेद उपचार देशको मौलिक चिकित्सा पद्धति भएकाले आयुर्वेदमा बिरामीको आकर्षण हुन थालेको बताउनुभयो । उहाँले अकुपन्चर उपचारमा मात्रै दैनिक ४० देखि ५० जना बिरामी आउने गरेको बताउनुभयो ।
निर्देशक डा केसीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै जेरियाटिक केयर अन्तर्गतका अल्जाइमर, पार्किन्सन, पक्षघात, स्पाइनल कर्ड इन्जुरीलगायत रोगमा पञ्चकर्म, शिरोधारा, अकुपन्चर, मनोसामाजिक परामर्शसहित गुणस्तरीय सेवा प्रदान गरिने बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक