प्रदेश र स्थानीय तहमा अनलाइनमार्फत बीमामा आवद्धता सेवा शुरु

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

काठमाडौ, १८ कात्तिक । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहलाई पनि अनलाइनमार्फत सामुहिक आवद्धता र नविकरण गर्ने सेवा शुरु गरेको छ ।

बोर्डले हिजो मङ्गलबारदेखि काठमाडौँको गोकर्णेश्वर र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाबाट अनलाइनमार्फत सामुहिक आवद्धता र नविकरण सेवा शुरु गरेको बोर्डका प्रवक्ता डा. पवनकुमार साहले जानकारी दिए ।

यसअघि प्रदेश र स्थानीय तह आफ्ना प्रदेश र पालिका भित्रका मानिसहरुको बोर्डमा आवद्धता कागजी (म्यानुअल्ली) रुपमा गर्दै आइरहेका थिए ।
बोर्डले संचालन गरेको इपोर्टलमार्फत प्रदेश र स्थानीय तहले आफ्ना नागरिकको बोर्डमा आवद्धता गराउने उनको भनाई रहेको छ ।
“हामीले प्रदेश र स्थानीय तहलाई एउटा अनलाइनमा आवद्धता गर्नका लागि एउटा युजर नेम दिन्छौ” उनले भने, “त्यही युजर नेमका आधारमा प्रदेश र स्थानीय तहले आफ्ना नागरिकको स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता र नविकरण गराउने छन् ।”

प्रदेश र स्थानीय तहले लक्षित समूह वा स्थानीयवासिन्दाको आफैले नै स्वास्थ्य बीमा शुल्क तिरेर बीमा कार्यक्रममा आवद्धता गराउने गरेका छन् ।
यस प्रणाालीमार्फत सेवा उपभोगका लागि प्रदेश सरकार र स्थानीय तहले ड्यासबोर्डबाट स्वय् वा दर्ता सहयोगीमार्फत आफ्ना नागरिक वा लक्षित लाभग्राहस्लाई स्वास्थ्य बीमा कार्यक्रममा सामुहिक रुपमा आवद्धता, नविकरण, योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापन गर्न सक्ने उहाँको भनाई रहेको छ ।

स्वास्थ्य बीमा बोर्डले भने गत साउन २९ गतेबाट नै सवै नागरिकलाई अनलाइनमार्फत बीमा आवद्धता र नविकरण गर्ने सेवा शुरु गरेको थियो ।

हाल करिव एक करोड ८ लाख बीमा आवद्ध रहेपनि ७३ लाख ५१ हजार जना बीमा कार्यक्रममा सक्रिय रहेका छन् ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक