शिशुको सुरक्षित पोषणको अधिकार पनि सुनिश्चित गर्न आग्रह
हेल्थपत्र
काठमाडौं, ४ असोज । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले आमाको दूधको संरक्षण तथा प्रवर्द्धनसँगै आमाको दूध प्राप्त गर्न नसक्ने शिशुको सुरक्षित पोषणको अधिकार पनि सुनिश्चित गर्न सरकारसंग आग्रह गरेको छ।
शाखाका अध्यक्ष शंकर महर्जन र शुभमान श्रेष्ठले आज सयुक्त रुपमा जारी गरेको विज्ञप्तिामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संसद् सचिवालयमा दर्ता गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ संशोधनसम्बन्धी विधेयकप्रति सकारात्मक ध्यानाकर्षण जनाउँदै संघले स्तनपान संरक्षण र वैकल्पिक पोषणबीच सन्तुलित कानुनी व्यवस्था आवश्यक रहेको जनाएको हो।
शाखाले बदलिँदो स्वास्थ्य आवश्यकता, वैज्ञानिक ज्ञान तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल विद्यमान कानुनमा सुधार गर्ने सरकारको पहल स्वागतयोग्य रहेको जनाएको छ।
‘विज्ञप्तिमा आमाको दूध शिशुको सर्वोत्तम पोषण भएकाले यसको संरक्षण, प्रवर्द्धन तथा अनुचित विज्ञापन र बजारीकरणमाथि प्रभावकारी नियमन आवश्यक छ। तर चिकित्सकीय अवस्था, आमाको अनुपस्थिति वा शिशुको विशेष स्वास्थ्य आवश्यकताका कारण आमाको दूध उपलब्ध हुन नसक्ने अवस्थामा सुरक्षित वैकल्पिक पोषणबाट शिशुलाई वञ्चित गर्न नहुने शाखाले जनाएको छ ।
शाखाले स्वीकृत तथा गुणस्तर मापदण्ड पुरा गरेका उत्पादनको नियन्त्रित र जिम्मेवार उपलब्धता सुनिश्चिता गर्न तथा विज्ञापन, छुट,उपहार तथा अनुचित व्यावसायिक प्रोत्साहनमा प्रभावकारी नियन्त्रण गर्न पनि माग गरेको छ ।
‘स्तनपानको संरक्षण र आमाको दूध प्राप्त गर्न नसक्ने शिशुको सुरक्षित पोषण अधिकार एकअर्काका विरोधी विषय होइनन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शाखाले प्रस्तावित कानुनी संशोधनले पूर्ण निषेध वा अनियन्त्रित बजारीकरणमध्ये कुनै एकलाई मात्र रोज्नुभन्दा आवश्यक अवस्थामा सुरक्षित, नियन्त्रित, पारदर्शी र जिम्मेवार रूपमा वैकल्पिक पोषण उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक