स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी सुधार अघि बढाउँदै स्वास्थ्य मन्त्रालय
हेल्थपत्र
काठमाडौं, २ असाेज । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थाको संशोधन प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो।
मन्त्रालयबाट अघि बढाइएको उक्त विधेयकलाई मन्त्रिपरिषद्को २०८३ भदौ २९ गतेको बैठकबाट संसद्मा पेश गर्न स्वीकृती प्राप्त भएको थियो। मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि विधेयक सचिवालयमा दर्ता गरिएको हो।
स्वास्थ्य सेवाको नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी प्रवाहका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक रहेको विद्यमान ऐनको मूल उद्देश्य रहेको छ।
मन्त्रालयले स्वास्थ्यकर्मीको पेशागत सुरक्षालाई प्राथमिकतामा राख्दै कानुनी संरचनालाई समयसापेक्ष बनाउने प्रक्रिया अघि बढाएको हो।
विधेयक संसद्को प्रक्रियामा प्रवेश गरेसँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने बाटो खुलेको छ।
“स्वास्थ्यकर्मी सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा बलियो बनाउन आवश्यक कानुनी सुधारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ, ” स्वास्थ्य मन्त्री निशा मेहेताले भनिन् ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य कानुनलाई समेत समयसापेक्ष बनाउन तीन वटा संशोधन विधेयक अघि बढाएको छ।
तीमध्ये सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन संशोधनका विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएका छन्।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक