सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

हेल्थपत्र

२०८३ कातिर्क २० बिहीबार

काठमाडौँ, १९ कार्तिक ।  सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातप्रदेशका सात वटा ठूला अस्पतालमा जलनको ‘स्टायन्र्ड ट्रिटमेन्ट प्रोटोलक अनुसार लेभल–३’ जलन उपचार सेवा विस्तार गरेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसका लागि ति अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिम समेत संचालन गरिएको उनले बताए ।

उनका अनुसार कोशीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशको नारायणी अस्पताल वीरगंज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगंज, कर्णालीको सुर्खेत अस्पताल सुर्खेत र सुदूरपश्चिमको सेती अस्पतालमा ‘स्टायन्र्ड ट्रिटमेन्ट प्रोटोलक अनुसार लेभल–३’ जलन उपचार सेवा विस्तार गर्न थालिएको हो ।

“अहिले ति अस्पतालमा सामान्य रुपमा जलन उपचार सेवा प्रदान गरिन्छ” उनले भने, “अव चिकित्सकलाई तालिम पश्चात ति लेभल–३ सम्मको उपचार तिनै अस्पतालमा प्रदान गर्ने हाम्रो तयारी हो ।”

मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगंज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचारसम्बन्धि तालिम संचालन गरेको छ ।

मन्त्रालयले यसअघि ति अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छ दिने प्राथमिक जलन उपचार तालिम समेत दिइसकेको छ ।

तालिममा नारायणी अस्पताल, वीरगञ्जबाट डा. प्रदिप कुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा. सोजन सापकोटा, रोशनी श्रेष्ठ, दल बहादुर विक र सुमन कंडेल गरी जम्मा ८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

तालिमले जलनको ‘स्टायन्र्ड ट्रिटमेन्ट प्रोटोलक अनुसार लेभल–३’ जलन उपचार सेवाका लागि दक्ष जनशक्तिको उत्पादन हुने छन् ।

तालिमपश्चात ति जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न, गुणस्तरीय जलन उपचार सेवा सुनिश्चित गर्न सेवाको विस्तार गर्ने छन् ।

तालिम मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पताल, कीर्तिपुरमा संचालन गरिएको छ ।

महानिर्देशक डा. पौडेलले क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तिहारपछि जलन उपचारसम्बन्धि तालिम दिने बताए ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक