कान्तिपुर डेन्टलमा दाँतको उपचार गर्न अत्याधुनिक हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन सञ्चालनमा
हेल्थपत्र
काठमाडौं, १९ बैशाख । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले अत्याधुनिक हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन सञ्चालनमा ल्याएको छ। दाँतको इम्प्लान्टको अवटमेन्ट, क्राउन, ब्रिज लगाउनु पर्ने जस्ता उपचार सेवाका लागि केडीसीले यो अत्याधुनिक प्रविधि भित्र्याएको हो ।
यसअघि यस्ता सेवाका लागि केडीसीमा एल्जीनेट सामग्री प्रयोग गरी डेन्टल इम्प्रेसन लिने प्रचलन थियो। यस प्रक्रियामा ट्रे भित्र राखिएको इम्प्रेसन सामग्रीलाई बिरामीको मुख भित्र हालेर टोक्न लगाई नापो लिने गरिन्थ्यो । जसले असहजता, समय खर्च र कहिलेकाहीँ कम सटीकता जस्ता समस्या निम्त्याउने गरेको थियो।
अहिले सञ्चानमा आएको हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन भने दन्त उपचारमा प्रयोग हुने कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ (क्याड/क्याम) प्रणालीमा आधारित प्रविधि हो । जसले डिजाइन गरिएको दाँतलाई स्वचालित रूपमा उच्च सटीकताका साथ तयार गर्ने बताइएको छ ।
केडीसीले यस मेसिनबाट ‘ड्राइ’ र ‘वेट’ दुवै प्रकारको मिलिङ गर्न सक्ने भएकोले जिरकोनिया, सेरामिक तथा टाइटेनियम जस्ता विभिन्न सामग्रीमा क्राउन, ब्रिज र भेनियर लगायतका संरचना छिटो र गुणस्तरीय रूपमा उत्पादन गर्न सक्ने बताएको छ । यस्तै पूर्ण रूपमा अटोमेटेड र डिजिटलाइज्ड प्रणालीमा आधारित यो प्रविधि पछिल्लो समय एआईसँग पनि जोडिएको भन्दै उपचारलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले यस प्रविधिको प्रयोगले केडीसीको दन्त उपचार सेवा र शिक्षण सेवा दुवैमा ठूलो परिवर्तन ल्याउने बताए। ‘यो मेसिन नहुँदा हामी एनालग पद्धतिबाट सेवा दिन बाध्य थियौं,’ उनले भने, ‘अब हामी पूर्ण रूपमा अटोमेटेड, डिजिटलाइज्ड र एआईमा आधारित प्रविधिमा गएका छौं, जसले धेरै नै फाइदा दिन्छ।’
उनले यस प्रविधिको प्रयोगले बिरामीहरूले कम समयमा गुणस्तरीय उपचार पाउने अपेक्षा गरिनुको साथै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त गर्ने बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक