सुकुम्बासीलाई उच्च रक्तचाप, मधुमेह, झाडापखालाको समस्या
हेल्थपत्र
काठमाडौँ, १९ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्बासी वस्तीका मानिसलाई संचालन गरेको स्वास्थ्य शिविरमा करिव दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
मन्त्रालयले सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्संगमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाको स्वास्थ्य सेवा प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए ।
रङ्शालामा १४० जना र राधा सत्संगमा ८२ जनाको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
रङ्शालाको शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, सङ्क्रमण, चोटपटक लगायतका समस्याहरु देखिएका मन्त्रालयका सूचना अधिकारी डा. केसीले बताए ।
यस्तै सोही शिविरका केही सेवाग्राहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला तीन दिनको शिविर संचालन गरिएको छ ।
यसैगरी किर्तिपुरस्थित राधा सत्संगमा आज ४२ जनाको साधारण जाँच, २० जनाको आँखा, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण र १४ जना बालबालिकाको परीक्षण गरिएको छ ।
शिविरमा आएक केहीको थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र ६ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको उहाँले बताउनुभयो । रङ्गशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति अस्पतालका चिकित्सक तथा नर्सले उपचार गरेका थिए ।
यस्तै किर्तिपुरस्थित राधा सत्संगमा वीर अस्पतालबाट चिकित्सक र नर्स खटिनु भएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक