अबदेखि अस्पतालभित्र स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने प्रतिबन्ध

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

काठमाडौं, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालभित्र स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने कार्यलाई कानुनविपरीत भन्दै कडा चेतावनी दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय अस्पतालभित्र बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीको स्वीकृतिबिना भिडियो बनाउने, सामाजिक सञ्जालमा प्रसारण गर्ने, भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुर्‍याउने घटना बढ्दै गएको गुनासो प्राप्त भएको जनाएको छ ।

मन्त्रालयका अनुसार अस्पताल अत्यन्त संवेदनशील सेवा क्षेत्र भएकाले यहाँ अनुशासन, गोपनीयता र मर्यादा अनिवार्य रूपमा पालना गर्नुपर्छ । बिरामीको उपचार चलिरहेको अवस्थामा स्वीकृतिबिना फोटो वा भिडियो खिच्दा केवल गोपनीयता हनन हुन्छ, बरु चिकित्सकीय प्रक्रियामा समेत बाधा पुग्ने जोखिम रहन्छ ।

विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा मुलुकी अपराध संहिता, २०७४ अनुसार यस्ता गतिविधि दण्डनीय हुने स्पष्ट गरिएको छ । मन्त्रालयले यस्ता कार्यलाई कानुनको ठाडो उल्लङ्घनको रूपमा व्याख्या गरेको छ ।

मन्त्रालयले कानुनविपरीत गतिविधि गर्ने व्यक्तिमाथि आवश्यक परे कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ ।

साथै, कुनै पनि उपचार सेवामा समस्या, त्रुटि वा असन्तुष्टि भएमा सामाजिक सञ्जालमा प्रसारण गर्नुको सट्टा सम्बन्धित स्वास्थ्य संस्था वा नियामक निकायमा उजुरी गर्न सकिने विकल्प प्रयोग गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयले अस्पतालभित्र मर्यादित व्यवहार कायम राख्दै बिरामीको अधिकार, गोपनीयता र स्वास्थ्यकर्मीको सुरक्षालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक