बालबालिकाका पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’
हेल्थपत्र
काठमाडौँ, १४ वैशाख : सरकारले देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउनका लागि ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्न थालेको छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बालबालिकाको उचाई र तौल नापि पोषणको अवस्था पत्ता लगाउनका लागि ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ संचालन गर्न थालिएको बताए ।
उनले ६ महिनादेखि ५९ महिनासम्मका करिव २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान संचालन गर्न थालिएको बताए ।
अभियान यहि वैशाख १५ देखि ३० गतेसम्म संचालन हुने छ ।
यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र मार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइन्छ ।
अभियान स्वास्थ्य संस्था तथा खोपकेन्द्रहरु, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमा संचालन हुने छ ।
शाखा प्रमुख थापाका अनुसार बच्चामा मध्यमसिघ्र कुपोषण र कडासिघ्र कुपोषण रहेका छन् । मध्यमसिघ्र कुपोषण ३० देखि ४० प्रतिशत र कडासिघ्र कुपोषण एक प्रतिशत बालबालिकामा रहेका छन् ।
मध्यमसिघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे तथा कडासिघ्र कुपोषण बालबालिका ख्याउटे, करङ्ग देखिने खालको हुने गर्दछन् । उनका अनुसार देशभरिमा अहिले करिव ३ हजार स्वास्थ्य संस्थामा उचाई र तौल नाप्ने उपकरण रहेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक