कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन स्थगित
हेल्थपत्र
काठमाडौँ, १० वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा अघिल्लो दिन भएको घटनापछि उत्पन्न विवाद आज सहमतिमा टुंगिएको छ ।
सहमति भएसंगै स्वास्थ्यकर्मी तथा कर्मचारीले जारी आन्दोलन फिर्ता लिएका छन्।
ड्युटीमा रहेका चिकित्सकमाथि केही युवाले अभद्र व्यवहार गरेको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी, शिक्षक तथा कर्मचारीले आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए। उक्त घटनापछि आज बिहान १० बजेदेखि सुरु भएको वार्ता दिउँसो करिब साढे १ बजेतिर निष्कर्षमा पुगेको हो।
अभियान्ता भनिने युवाहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीसँग माफी माग्दै भविष्यमा यस्ता व्यवहार नदोहोऱ्याउने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी, चिकित्सकहरूले पनि सेवा अझ प्रभावकारी र व्यवस्थित बनाउनेतर्फ काम गर्ने बताएका छन्।
प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतले हिजोको घटनामा दुवै पक्षबीच सहमति भएको र अवरुद्ध सेवा पुनः सुचारु भइसकेको बताए । उनले प्रभावित चिकित्सकहरू अमित चौधरी र सरोजबाबु अर्याल तथा अभियन्ताका रूपमा प्रस्तुत उपेन्द्र बुढ थापा, नरेन्द्र बुढ थापा लगायतबीच आपसी समझदारी कायम भएको बताए ।
उनीहरूले घटनापछि आफ्नो गल्ती महसुस गर्दै चिकित्सकहरूसँग माफी माग्नुभयो,” रजिष्ट्रार महतले भने, “हामीले पनि सेवामा कुनै कमजोरी भए सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनायौँ। चिकित्सकको सुरक्षाको विषयमा दुवै पक्षबाट आश्वस्त पार्ने सहमति भयो।”
वार्ताको सहजीकरण प्रतिष्ठानका उपकुलपति पुजन रोकाया, डीन प्रेनित पोखरेल, विवेक पुन मगर लगायतको टोलीले गरेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक