८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौँ महानगरपालिका
हेल्थपत्र
काठमाडौँ , १० वैशाख। काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ ।
यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेका छन् ।
‘वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ ।’ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भने ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’
वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उनले भने, ‘सिप सिकेको राम्रो । तर, सकेसम्म यो सिपको प्रयोग गर्नु नपर्ने अवस्था हुनु राम्रो हो । परि हालेका बेला कसैले पनि पछाडि हट्नु हुँदैन ।’
‘रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ,’ उनले भने, ‘प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सिप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ ।’ उनको भनाइ थियो ।
‘महानगरपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदाय स्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्धन केन्द्रहरुमा प्रयोगशालासहितका सुविधा थपिएको छ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी ले भने, ‘करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धि गर्नमा खर्च गरिरहेका छौँ ।’
तालिममा सिकेको सिप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र विर्सेर आपतका बेला काम नलाग्न सक्छ । कार्यक्रममा वडा सदस्य जितेन्द्र खड्गीले भन्नुभयो, ‘प्रशिक्षार्थी आफैँको तत्परताले नियमित अभ्यास सम्भव छ ।’
दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने महानगरपालिकासँगको सम्झौतालाई गुणस्तरीय दायित्वका रुपमा पूरा गर्ने बताउँदै रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले, अहिलेको लगानी विपदका समयमा काम लाग्ने बताए ।
तालिमका प्रशिक्षक राजाराम श्रेष्ठले तालिममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहका सहभागी हुनुभएको, २३ जना महिला र २ जना पुरुष सहभागी भएको जानकारी दिए ।
प्रशिक्षार्थीहरुले, घरमै बसिरहेको बेला महानगरपालिकाले अवसर दिएको, सुरुमा तालिमलाई औपचारिक रुपमा मात्र लिएको तर सिक्दै गएपछि अझ धेरै सिक्न बाँकी रहेछ भन्ने महसुस भएको प्रतिक्रिया दिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक