नेपाल नेशनल बिल्डिङ कोड तालिम शुरु
हेल्थपत्र
काठमाडौँ, ८ वैशाख । नेपाल रेडक्रस सोसाइटीको आर्थिक तथा सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा “नेपाल नेशनल बिल्डिङ कोड सम्बन्धी ७ दिने तालिम कार्यक्रम आजबाट नगरकोटमा सुरु भएको छ ।
कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले मापदण्डअनुसारको सुरक्षित र दिगो निर्माणमा सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउदै तालिमबाट हासिल ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै केन्द्रीय कार्यसमिति सदस्य डा. गंगाधर अधिकारीले तालिमको सफलताको कामना व्यक्त गरे। उनले सुरक्षित संरचना निर्माणका लागि नेपाल नेशनल बिल्डिङ कोडको प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेकोमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक मोना अर्यालले संस्थाले विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित पूर्वाधार निर्माणमा गरिरहेका पहलहरूबारे जानकारी गराउँदै यस्ता तालिमले स्थानीय स्तरमा गुणस्तरीय निर्माण प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी, लक्जेम्बर्ग रेडक्रसका प्रतिनिधि एना क्यारोलिनाले नेपालमा सुरक्षित आवास निर्माण र प्राविधिक क्षमताको विकासमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्थानीय तहसम्म प्राविधिक ज्ञान विस्तार गर्नु आजको आवश्यकता भएको धारणा राखिन्।
तालिममा नेपाल रेडक्रस सोसाइटीका १२ जना तथा विभिन्न नगरपालिकाबाट ८ जना गरी २० जना इन्जिनियरहरूको सहभागिता रहेको छ ।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाल नेशनल बिल्डिङ कोडसँग सम्बन्धित विभिन्न प्राविधिक विषयहरूमा गहन छलफल र व्यावहारिक अभ्यास गरिने छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक