प्युठानमा सडक दुर्घटना : चुनौती,परिदृश्य र समाधान

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार
  • प्रहलाद बैदिक

प्युठान जिल्ला, पछिल्ला वर्षहरूमा सडक सञ्जाल विस्तारसँगै यातायातको पहुँच बढ्दै गएको छ। गाउँ-बस्तीलाई सदरमुकाम र छिमेकी जिल्लासँग जोड्ने सडकहरू खुलेसँगै आवागमन सहज बनेको छ,तर त्यसैसँग दुर्घटनाको जोखिम पनि बढेको छ।

पहाडी भूगोल,साँघुरा र घुमाउरा सडक,तीव्र मोड,कमजोर पूर्वाधार,चालकको लापरवाही र मौसमजन्य अवरोधका कारण यहाँको सडक यात्रा अझै पनि चुनौतीपूर्ण छ।

सडक दुर्घटना अब केवल यातायातको समस्या मात्र नभई सामाजिक,आर्थिक र मानवीय संकटको विषय बनेको छ।
प्युठानका केही दुर्घटनाहरूले यो अवस्थाको गम्भीरता स्पष्ट रूपमा देखाएका छन्।

२०७८ सालमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो। गौमुखी गाउँपालिका क्षेत्रमा भएको उक्त दुर्घटनाले एकैपटक धेरै परिवारलाई शोकमा डुबाएको थियो।

फेरि २०७८ साल चैत ५ मा माण्डवी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा एक बालकको मृत्यु र २२ जना घाइते भएका थिए। बस करिब ७० मिटर तल खसेको थियो। यी घटनाले देखाउँछन् कि प्युठानका ग्रामीण सडक अझै सुरक्षित यात्रा सुनिश्चित गर्न पर्याप्त रूपमा तयार छैनन्।

२०८० सालमा स्वर्गद्वारी नगरपालिका क्षेत्रमा भएको कार दुर्घटनामा आठ जनाको ज्यान गएको थियो,जसमा बालबालिका पनि परेका थिए। कार सडकबाट तल खस्दा ठूलो मानवीय क्षति भएको थियो। यी उदाहरण हुन् ।

यसै बीच थुप्रै दुर्घटना घटेका छन्, जसमा धेरैको मृत्यु तथा घाइते भएको तथ्यांक छ । पछिल्लो दुर्घटना २०८३ जेठ १गते प्युठान-दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका-१, डाम्रीखोलानजिक मारुती भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको समाचार आएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यो दुर्घटनाले फेरि एकपटक प्युठानका पहाडी सडकहरू कति संवेदनशील छन् भन्ने कुरा उजागर गरेको छ ।

सडक दुर्घटनाको प्रमुख कारणहरु :

प्युठानमा सडक दुर्घटनाको प्रमुख कारण भौगोलिक अवस्था हो। यहाँका धेरै सडक साँघुरा,उकालो-ओरालोयुक्त र घुमाउरा छन्। कतिपय स्थानमा सडक छेउमै गहिरो भिरालोपन छ,जसले सानो त्रुटिलाई समेत ठूलो दुर्घटनामा रूपान्तरण गर्न सक्छ।

वर्षायाममा पहिरो,सडक भासिने,चिप्लिने र दृश्यता घट्ने समस्या झनै बढ्छ। कतिपय सडकमा सुरक्षा रेलिङ,संकेतचिन्ह,मोड सूचक,ऐना र सडक बत्तीजस्ता न्यूनतम सुरक्षात्मक व्यवस्था छैनन्।

सडक डिभिजन, प्युठानले सडक सञ्चालनसम्बन्धी सूचना र सडक-सुरक्षासम्बन्धी अभिलेख सार्वजनिक गरे पनि पर्याप्त संरचनागत सुधार अझै आवश्यक देखिन्छ ।

मानवीय कारण पनि दुर्घटनाका ठूलो कारक हुन्। चालकको असावधानी, तीव्र गति,मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति,क्षमताभन्दा बढी यात्रु बोक्ने अभ्यास र पुराना सवारीसाधनको समयमै प्राविधिक परीक्षण नगर्ने चलनले दुर्घटनाको जोखिम बढाएको छ।

ग्रामीण क्षेत्रमा सार्वजनिक यातायातको प्रतिस्पर्धा,यात्रु चाँडै पुर्‍याउने दबाब र निगरानीको कमजोरीले यो समस्या अझ जटिल बनाएको छ। यस्तो अवस्थामा सामान्य त्रुटि पनि ज्यानमारा हुन सक्छ।

दुर्घटना न्यूनीकरणका उपायहरु :

दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा पहिले सडक पूर्वाधारमा सुधार आवश्यक छ।जोखिमयुक्त स्थानमा सुरक्षा रेलिङ,ठूला मोडमा ऐना,चेतावनी संकेत, सडक बत्ती र चिप्लो भागमा सतह सुधार जस्ता काम प्राथमिकतामा पर्नुपर्छ।

पहिरो सम्भावना भएका ठाउँमा तत्काल मर्मत,ढल निकासको व्यवस्थापन र स्लोप स्टेबलाइजेसन गर्नुपर्छ। सडक बनाउँदा केवल पहुँच विस्तारलाई होइन,सुरक्षा र दीर्घकालीन टिकाउपनलाई पनि समान महत्व दिनुपर्छ।

चालक व्यवहारमा सुधार ल्याउनु अर्को महत्वपूर्ण उपाय हो।चालकलाई नियमित तालिम, ट्राफिक नियमको पुनःअभिमुखीकरण र मनोवैज्ञानिक सचेतना आवश्यक छ।

सार्वजनिक यातायात चालकका लागि फिटनेस,लाइसेन्स,समय-समयमा स्वास्थ्य परीक्षण र ताजा तालिम अनिवार्य गरिनुपर्छ। मदिरा सेवन गरेर सवारी चलाउने,ओभरलोड गर्ने र तोकिएको गति नमान्नेहरूलाई कडा कानुनी कारबाही गर्न सके मात्र अनुशासन कायम हुन सक्छ। नियम कडा भएपछि मात्र व्यवहारमा परिवर्तन आउने हो।

साथै,ट्राफिक तथा प्रहरी प्रशासनको समन्वयात्मक अनुगमन पनि अपरिहार्य छ। दुर्घटना जोखिमयुक्त स्थान पहिचान गरी त्यहाँ नियमित जाँच,स्पीड निगरानी र आकस्मिक कारबाहीको व्यवस्था गर्नुपर्छ।

विद्यालय,स्थानीय तह,यातायात व्यवसायी,युवा क्लब र समुदायलाई समेटेर सडक सुरक्षा अभियान सञ्चालन गर्न सकिन्छ।विशेषगरी विद्यार्थी,यात्रु र ग्रामीण बासिन्दाबीच सुरक्षित यात्रा,हेल्मेटको प्रयोग,सीटबेल्ट,लापरवाही नगर्ने बानी र आपतकालीन उद्धारबारे सचेतना फैलाउनुपर्छ।

दुर्घटना भइसकेपछि उद्धार र उपचारको गति पनि अत्यन्त महत्वपूर्ण हुन्छ। धेरै घटना सडकबाट तल खस्ने,भिरालो भूभागमा हुने वा सञ्चार कमजोर हुने स्थानमा भएकाले तत्काल उद्धार कठिन हुन्छ।

त्यसैले स्थानीय तह,प्रहरी,स्वास्थ्य संस्था र स्वयंसेवी समूहबीच समन्वित आपतकालीन प्रतिक्रिया प्रणाली बनाइनु आवश्यक छ। प्राथमिक उपचार सामग्री,स्ट्रेचर,एम्बुलेन्स र सञ्चार सुविधा प्रभावकारी भए धेरै ज्यान जोगाउन सकिन्छ।

अन्त्यमा:सडक दुर्घटना नियन्त्रण सरकारको मात्र जिम्मेवारी होइन। यो चालक,यात्रु,स्थानीय समुदाय, यातायात व्यवसायी र नीति निर्माताको साझा दायित्व हो।

सुरक्षित सडक, जिम्मेवार चालक र सचेत नागरिकबीच समन्वय हुन सके मात्र प्युठानलाई सुरक्षित यात्राको जिल्ला बनाउन सकिन्छ।

विकाससँगै सुरक्षा जोड्ने दृष्टिकोण अब नारामा मात्र सीमित रहनु हुँदैन;व्यवहारमा लागू गर्नुपर्ने समय यही हो।सडक विस्तारसँगै सुरक्षा पूर्वाधार र अनुशासन पनि सँगै बढे मात्र यात्रा वास्तवमै सुरक्षित र मर्यादित बन्नेछ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक