आज विश्व सुर्तीजन्य पदार्थ रहित दिवस
हेल्थपत्र
काठमाडौँ, १७ जेठ : आज विश्वसहित नेपालमा ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मनाइदै छ ।
नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाका अनुसार नेपालमा हरेक बर्ष ३९ हजार भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । उनले धूम्रपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको बताइन् ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थका कारण करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये करिब १२ लाख मानिसहरूले धूम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूम्रपानबाट उत्पन्न धुवाँका कारण ज्यान गुमाउँछन् ।
युवा पुस्तालाई लक्षित गरि सुर्ती उद्योगले अपनाउने भ्रामक रणनीति जस्तै विभिन्न स्वाद, सुगन्ध, आकर्षक प्याकेजिङ र डिजिटल विज्ञापनको प्रयोगको पर्दाफास गर्न आवश्यक रहेको केन्द्रका निर्देशक डा. थपलियाले बताइन् ।
नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट हुने रोग र मृत्यु दर घटाउन मद्दत गरी दीर्घकालीन स्वस्थ समाज निर्माण गर्न सहयोगी बनेको छ ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन तथा निर्देशिका जारी गरि सार्वजनिक स्थानमा सेवन निषेध, १८ वर्षमुनिका तथा गर्भवतीलाई बिक्री निषेध, शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटरभित्र बिक्री प्रतिबन्ध र विज्ञापन पूर्ण रूपमा निषेध जस्ता व्यबस्था गरिएको छ ।
केन्द्रका निर्देशक डा. थपलियाले सुर्तीजन्य पदार्थमा कर वृद्धि, विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन, सुर्तीजन्य पदार्थ त्याग्न सहयोग गर्नका लागि क्विटलाइन परामर्श सेवा, र विद्यालय तथा समुदायमा सचेतना कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताइन् ।
सवैमा सुर्तीजन्य पदार्थको प्रयोग घटाउने, युवा पुस्तालाई संरक्षण गर्ने र स्वस्थ, सुर्तीजन्य पदार्थमुक्त भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताइएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक