शिवसताक्षीमा आयुर्वेदका उपचार निःशुल्क

हेल्थपत्र

२०८३ श्रावाण ८ शुक्रबार
झापा, १० जेठः आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताए । नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी–११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु २० लाख बजेट दिइरहेको छ ।
जिल्लाकै पुरानोमध्येको यहाँको आयुर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रूपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयबासी आयुर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयका कविराज राजेन्द्र पोखरेल बताउँछन्।
“पहिले पहिले मानिसहरु त्यति धेरै आउँदैनथिए,” उनले भने–“जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरु आयुर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”
दैनिक ५० जनासम्म ओपिडी सेवामा मानिसहरु आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेको पोखरेलले बताए ।
चालू आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवा लिइसकेका छन् । वहिरङ्ग विभाग ९ओपिडी०मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवा लिएको उहाँले जानकारी दिए ।
औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालित पञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना बिरामीलाई घरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।
नगरपालिकाले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रूपमा विकास गर्न आवश्यक रहेको नगरप्रमुख थोप्रा बताउँछन् । सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदासमेत औषधालयले पुर्याएको उपचार सेवा प्रशंसनीय रहेको उनको भनाइ छ ।
पछिल्लो समय स्तनपान गराइरहेका सुत्केरी महिला आफ्नो र शिशुको लाभका लागि आयुर्वेद पद्धतिमा आधारित दुग्धवर्द्धक औषधिप्रति आकर्षित भइरहेका छन् । बिगत दश महिनामा १८९ जना महिलाले दुग्धवद्धक औषधि लगेर सेवन गरेका छन् ।
सबैलाई लाग्ने रोग भनेर चिनिएको मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका बिरामीले आयुर्वेद औषधालय धाएर नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि लैजाने गरेको कविराज पोखरेल बताउँछन् ।
यहाँको आयुर्वेदालयले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका ८८ जना ज्येष्ठ नागरिकले नियमित रूपमा औषधालयमा धाएर स्वास्थ्य परीक्षण र औषधि खाइरहेका छन् ।
नगर आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि औषधालयमा नयाँ सुविधासम्पन्न भवन र थप जनशक्तिको आवश्यक पर्ने र योग ध्यान हल, फिजियोथेरापी, एक्यूपञ्चर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्यावलगायतका नयाँ प्रविधियुक्त सेवा भित्र्याउन आवश्यक रहेको स्थानीयवासी सरोज भट्टराई बताउँछन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक