राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै
हेल्थपत्र
काठमाडौँ, २६ भदाै । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिईन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि टोलीमा रहनुभएको उनले बताईन ।
जिल्ला प्रशासन कार्यालय,सप्तरीले पनि छानबिन समिति गठन गरेको छ।
उनले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताईन ।
घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले जानकारी दिईन् ।
सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने – जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनकाे भनाई छ ।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारिन् ।
मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि आमा स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुने बताईन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक