अब चुरोटको बट्टामा सतप्रतिशतमा घातक र चेतनामुलक सन्देश

हेल्थपत्र

२०८३ भाद्र २९ सोमबार

शरद् शर्मा

काठमाडौँ, २४ माघ ः अव सुर्तीजन्य पदार्थको अगाडि र पछाडि पुरै भागमा घातक चित्र अङ्कित तस्विर र चेतावनीमूलक सन्देश राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रङ्गिन चित्र र चेतावनीमूलक सन्देश छाप्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

यसअघि चुरोट, बिडी, खैनी लगायतका सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा घातक चित्र र चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो ।
उहाँका अनुसार निर्देशिकामा चुरोट, खैनी, विडी र गुट्खाको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्यु जस्ता घातक रङ्गिन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङकित चित्र, कमतौल भएको, अपाङ्गता भएको वा मरेको बच्चा जन्मेको अङकित चित्र चित्र, मुखको क्यान्सरको अङकित चित्र, ह्दयघातको अङकित चित्र र फोक्सोको क्यान्सर अङकित चित्र राख्न भनिएको छ ।

यस्तै चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये २० प्रतिशत भागमा ‘सूर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ’ ‘सुर्तीजन्य पदार्थको सेवनले मुख तथा घाँटीका क्यान्सर हुन्छ र चुरोट, खैनी सुर्तीसेवन छाडौँ भन्ने राख्नुपर्ने उल्लेख छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चुरोट र सूर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्नका लागि सतप्रतिशतमा घातक चित्र र चेतनामुलक सन्देश राख्नका लागि निर्देशिका स्वीकृत गरिएको बताए।

यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र ¥यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा मुखको क्यान्सर अङ्कित चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०÷२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्देशिकामा भनिएको छ ।

निर्देशिकामा यस्तै निर्देशिका अनुसार बिडीको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङकित चित्र, कमतौल भएको, अपाङ्गता भएको वा मरेको बच्चा जन्मेको अङकित चित्र राख्न भनिएको छ ।
यस्तै बिडीको बट्टा, प्याकेट र ¥यापर्सको २० प्रतिशत भागमा चेतनामुलक सन्देश राख्नुपर्ने हुन्छ ।

यस्तै निर्देशिकामा सुर्तीजन्य पदार्थको पेटी, पार्सल, प्याकेजिगमा छापिने सन्देश पनि पाँचवटा घातक रंगिन चित्र ८० प्रतिशतमा र चेतनामुलक सन्देश २० प्रतिशतमा छाप्नुुपर्ने उल्लेख गरिएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ ले कम्तिमा ७५ प्रतिशत चुरोट, विडी र गुटखामा घातक चित्र राख्ने व्यवस्था गरिएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले ऐनमा भएको सुर्तीजन्य पदार्थका प्याकेटमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत पुर्याएको मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीले जानकारी दिए ।

नेपालले ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पु¥याउँदा ब्लुमबर्ग अवार्ड समेत प्राप्त गरेको थियो ।
सुर्तीजन्य पदार्थमा सतप्रतिशत चेतनामुलक चित तथा सन्देश राख्दा सेवनकर्ता चुरोट, सुर्ती, गुटखा खान डराउने भएकोले विक्रि वितरण पनि कम हुने बताए । “चुरोट, खैनी, गुटखामा भएको घातक चित्रले सेवनकर्ता डराउने र विस्तारै सेवन गर्न छाड्ने छन्” उनले भने,“ नयाँ सेवनकर्ता पनि घातक चित्र र चेतनामुलक सन्देशले नखाने विश्वव्यापी मान्यता रहेको छ ।”

उनका अनुसार निर्देशिकामा घातक चित्रका रङ्ग पनि नराम्रो खालको राख्न भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संसोधित निर्देशिकाले सूर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरुमा कमी हुने बताए ।

मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । उनले निर्देशिकालाई चाँडै नै लागू गरिने बताए ।

अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद गरेको सर्वेक्षणमा नेपालमा २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तिमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

 

 

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक