स्वास्थ्य मन्त्री मेहता स्वदेश फिर्ती
हेल्थपत्र
काठमाडौं , २६ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यू टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP 31) तथा श्रीलङ्काको कोलम्बोमा आयोजित बहुक्षेत्रीय प्राविधिकेि तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (BIMSTEC) अन्तर्गतका विभिन्न कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै महत्वपूर्ण सहभागिता जनाई आज श्रीलङ्कन एयरमार्फत स्वदेश फर्किएकी छन् ।
COP 31 का क्रममा माननीय मन्त्रीज्यूले नेपाल पेभिलियनमा आयोजित “Health at the Heart of Climate Action: A Global Perspective” विषयक Panel Discussion Session को अध्यक्षता गर्दै जलवायु परिवर्तनलाई गम्भीर स्वास्थ्य सङ्कटका रूपमा बुझ्न र जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न विश्व समुदायको ध्यानाकर्षण गराईन् ।
रसुवाको बाढीसहित हिमाली क्षेत्रका जलवायुजन्य विपद्ले जनस्वास्थ्य र सेवा प्रवाहमा पारेको प्रत्यक्ष असरबारे नेपालको अनुभव प्रस्तुत गर्दै उनले अल्पविकसित मुलुकहरूका लागि अनुदानमा आधारित जलवायु वित्तमा सहज पहुँचको माग गरिन्। साथै, सम्मेलनमा सहभागी नेपाली युवा तथा संघसंस्थाका प्रतिनिधिहरूसँग भेट गर्दै उनले सबै सत्रमा स्वास्थ्यका सवाललाई सक्रियतापूर्वक उठान गर्न आग्रह गरिन् ।
यसैगरी, श्रीलङ्काको कोलम्बोमा आयोजित BIMSTEC को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठक तथा विभिन्न कार्यक्रमहरूमा माननीय मन्त्रीज्यूले सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य अभिवृद्धि, ज्ञान तथा अनुभव आदानप्रदान र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा विशेष जोड दिईन् ।
उक्त अवसरमा सदस्य राष्ट्रहरूबीच साझा स्वास्थ्य चुनौतीहरूको पहिचान, तिनको प्रभावकारी समाधान तथा क्षेत्रीय साझेदारी र आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न भयो।
साथै, उनले विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाट तथा स्वास्थ्य क्षेत्र सुधारका लागि आपसी समन्वयसमेत गरिन् ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय दुवै मञ्चमा नेपालको राष्ट्रिय हित, स्वास्थ्य क्षेत्रको प्राथमिकता, खाद्य स्वच्छताको महत्व र जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेका गम्भीर चुनौतीहरूलाई सशक्त रूपमा उठाउँदै विश्वव्यापी एवं क्षेत्रीय सहकार्य विस्तार गर्न सफल भएकाले माननीय मन्त्रीज्यूको यो भ्रमण अत्यन्तै उपलब्धिपूर्ण, फलदायी र सफलतापूर्वक सम्पन्न भएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक