प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य चौकी भवनको उद्घाटन
हेल्थपत्र
काठमाडौं, मंसिर २२ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा हरेक नागरिकको पहुँच पुग्नु पर्ने बताएका छन् ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा निर्माण भएको नयाँ स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री थापाले नेपालमा अहिले पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकार र नागरिकको प्राथमिकतामा नपरेको बताए । स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रभावकारी लगानी बिन देशले समृद्धि प्राप्त गर्न नसक्ने बताउँदै उनले अहिले वाग्मती प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । ‘स्वास्थ्य क्षेत्रमा आमनागारिकको पहुँच पुग्ने गरी हामीले नयाँ–नयाँ कार्यक्रम लिएर आएका छौँ’, थापाले भने ।
भौतिक संरचनाको विकासलाई मात्र विकास भन्ने अवधारणबाट राज्य र समाज अझै बाहिर निस्कन नसकेको उनको धारणा छ । ‘अन्य भौतिक संरचनाको लागि बजेट माग हुन्छ, सकरको लगानी पनि भौतिक संरचनामा बढी हुन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन नहुँदा हाम्रो समाजले सोचे जस्तो प्रगति गर्न सकेको छैन’, उनले भने।
स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवस्थापनको लागि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिँदै उनले प्रादेशिक अस्पतालको सुविधा थप गर्दै लगिएको उनले बताए । अहिले वाग्मतीका हरेक प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा थप गरिएको बताउँदै उहाँले अब बिरामीले उपचारको लागि काठमाडौँ नै पुग्नु पर्ने बाध्यता हट्दै गएको स्पष्ट पार्नुभयो। पर्दैन’, थापाले भने ।
वाग्मती प्रदेशका १० वटा प्रदेशीक अस्पतालमा मिर्गौलाको डाइग्लोसि सेवा, हाडजोर्नीको उपचार, अप्रेसन सहितका प्रसूति सेवा लगायतका थुप्रै विशेषज्ञ सेवा सञ्चालनमा आएका उनले बताए। त्यति मात्रै नभई यस वर्षबाट वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले एक जिल्ला एक स्वास्थ्य सहर, एक पालिका एक नमुना स्वास्थ्य चौकीको कार्यक्रम सुरु गरेको थापाले जानकारी दिनुभयो । केही नगरपालिकालाई स्वास्थ्य सहरको रूपमा अघि बढाइसकिएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा आम नगरिएको पहुँच पुग्ने गरी नयाँ नयाँ कार्यक्रम लिएर आएका स्पष्ट पारे।
वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता कार्यक्रम घोषणा गरिएको बताउँदै उनले अब संस्थागत सुत्केरी कार्यक्रम अघि बढाएको जानकारी दिए। अब हरेक महिला स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने अवधारणा अनुसार वाग्मती प्रदेश सरकारले यो अभियान सुरु गरेको थापाले बताए। उनले गर्भवती महिलाहरूलाई सम्भव भएसम्म नजिकको प्रादेशिक अस्पतालमा नै लगेर सुत्केरी गराउन पनि आग्रह गरे । यसले सुत्केरी हुँदा हुने जीवनको जोखिम रोक्न सकिने थापाको धारणा छ । ‘समयमा नै स्वास्थ्य संस्थामा नपुराउँदा भइरहेको गर्भवती र सुत्केरीको मृत्युदरलाई घटाउने योजनामा हामी लागेका छौँ’, उनले भने ।
उनले अहिले स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि राज्यले निःशुल्क दिएको बताउँदै नागरिकलाई नसर्ने खालका औषधि उपबन्ध गराएको भए पनि ती औषधिको वितरण सही रूपमा हुन नसकेको बताए । जसले नसर्ने रोगबाट दिनप्रतिदिन नागरिकको मृत्यु भइरहेको उनको भनाइ छ । अब स्वास्थ्यकर्मीलाई घर घरमा पठाए औषधि वितरण गरी त्यो मृत्युदर घटने काम गर्ने थापाले जानकारी दिए । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत यो कार्यक्रम अधि बढ्ने थापाले बताउनुभयो । ‘नागरिकले रोगको समयमा नै उपचार औषधि पाएपछि उहाँहरूको आयु लम्बिन्छ’, उनले भने।
नवनिर्मित भवन उद्घाटन कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, नगरप्रमुख टोपबहादुर वाइबा, उपप्रमुख विष्णुमणि नेपाल लगायतका जनप्रतिनिधि, जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख रागिश्री कक्षपती लगायत सहभागी थिए।
यस अघिको स्वास्थ्य चौकी भवनलाई सबलीकरण गरी मर्मत सम्भार पछि नयाँ बनेको भवनको मन्त्री थापाले उद्घाटन गरे। भवनमा झ्याल, ढोका, ट्वाइलेट, बाथरुम लगायतका संरचनाहरू बनाएर सबलीकरण गरिएको नगरपालिकाका प्राविधिक सञ्जीव यादवले जानकारी दिए । भवन सबलीकरणको लागि १२ लाख ३६ हजार रुपैँया खर्च भएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक