१५ शैया सम्मका आधारभूत अस्पतालको संख्या ४१३, ठूला १०० देखि ३०० बेड क्षमताको अस्पताल सुदूरपश्चिममा एउटा मात्रै
हेल्थपत्र
काठमाडौँ, १२ मंसिर : देशभरका अस्पतालहरूको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८१\८२ को विवरणअनुसार ५ देखि १५ बेड क्षमताका आधारभूत अस्पतालको संख्या ४१३ पुगेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै १३६ अस्पताल रहेका छन् । त्यसपछि कोशीमा ११२, लुम्बिनीमा ४२, सुदूरपश्चिममा ३३, कर्णालीमा २८, मधेशमा ४१ र गण्डकी प्रदेशमा २१ आधारभूत अस्पताल रहेका छन् ।
आज शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
यस्तै २५ देखि ५० बेड क्षमताका सामान्य अस्पतालको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । हाल देशभर ३०५ सामान्य अस्पताल सञ्चालनमा रहेका छन् । यस श्रेणीमा बागमती प्रदेश ७२ अस्पतालसहित पहिलो स्थानमा छ, भने गण्डकीमा ५६, मधेशमा ५३, लुम्बिनीमा ४९, कोशीमा ४३ अस्पताल रहेका छन् । कर्णालीमा १४ र सुदूरपश्चिममा १८ सामान्य अस्पताल मात्र रहेको देखिन्छ, जसले दुर्गम प्रदेशहरूमा स्वास्थ्य पूर्वाधार अझै अपर्याप्त रहेको संकेत गर्छ ।
ठूला १०० देखि ३०० बेड क्षमताका सामान्य अस्पतालको संख्या देशभर ७२ पुगेको छ । यसमा पनि बागमती प्रदेश २५ अस्पतालसहित अग्रस्थानमा छ भने मधेशमा १५, लुम्बिनीमा १२, गण्डकीमा ९ र कोशीमा ७ रहेका छन् । कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ मात्र यस्तो अस्पताल रहेको तथ्यांकले जनाउँछ।
प्रदेशगत असमानता अझै ठूलो चुनौती बनेको अवस्थामा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको विशेषज्ञहरूको सुझाव छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक