भक्तपुर अस्पताललाई कागजबिहीन बनाउने तयारी

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडौँ, ९ मंसिर: भक्तपुर अस्पतालले यस आर्थिक वर्षभित्र पूर्ण रूपमा कागजबिहीन सेवा प्रणाली लागु गर्ने तयारी थालेको छ ।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टका अनुसार अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणाली सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो ।

प्रदेश सरकारको सहयोगमा इएमआरका लागि आवश्यक कम्प्युटर तथा प्रविधिसम्बन्धी उपकरणहरू उपलब्ध भएका छन् । इएमआरको अर्थ विरामीको कागजी फाइलको डिजिटल रूप हुन्छ ।

अहिले सफ्टवेयर विकासको तयारी भइरहेको र सञ्चालनमा आएपछि अस्पतालको दर्तादेखि उपचार, चिकित्सकको प्रेकृप्तसन औषधि वितरणदेखि बिलिङसम्मका सबै प्रक्रिया डिजिटल रूपमा हुने डा. भट्टले जानकारी दिए ।

उनले भने, “हाम्रो योजना कागजका फाइल हटाएर सबै विवरण कम्प्युटरमै सुरक्षित राख्ने हो। एकपटक इन्ट्री भएपछि विरामीको सम्पूर्ण स्वास्थ्य अभिलेख इलेक्ट्रोनिक रूपमा अपडेट हुँदै जान्छ ।”

इएमआर लागू भएपछि विरामीले पर्चा बोकिरहनुपर्ने छैन । अस्पतालले वितरण गर्ने विशेष कार्डमार्फत दर्ता, भुक्तानी तथा चिकित्सकको कक्षमा प्रवेश सहज हुने छ । कार्ड स्वाइप (स्क्यान) गरेपछि चिकित्सकको कम्प्युटर स्क्रिनमा विरामीको नाम, पुराना उपचार इतिहासदेखि रिपोर्टसमेत देखिने व्यवस्था मिलाइने अस्पतालमा निमित्त निर्देशक डा. भट्टले बताए ।

उनका अनुसार नयाँ सफ्टवेयरले पुराना प्रणालीमा रहेको डाटा पनि थप गर्दै जान्छ । “डाक्टरले विरामीको रिपोर्ट हेरि प्रत्यक्ष कम्प्युटरमै विवरण अद्यावधिक गर्नुहुन्छ । यसले उपचार सेवा छिटो, भरपर्दो र व्यवस्थित बनाउनेछ,” उनले भने ।

इएमआर जडान एक विशेष कार्यक्रम भएकाले केही चुनौती रहने भए पनि यो आर्थिक वर्षभित्रै पूर्ण रूपमा संचालनमा ल्याउने लक्ष्य अस्पतालले राखेको छ । यसका लागि प्रदेश सरकारले छुट्टै बजेट विनियोजन गरिसकेको छ ।

भक्तपुर अस्पतालको यो पहलले सार्वजनिक स्वास्थ्य सेवा क्षेत्रलाई प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको छ ।

इलेक्ट्रोनिक मेडिकल रेकर्ड स्वास्थ्य संस्थामा विरामीको सम्पूर्ण स्वास्थ्यसम्बन्धी विवरण कम्प्युटर प्रणालीमार्फत सुरक्षित राख्ने डिजिटल अभिलेख हो । इएमआरमा बिरामीको नाम, उमेर, ठेगाना, जाँच–रिपोर्ट, चिकित्सकको सुझाव,रोग इतिहास, औषधि विवरण उल्लेख गरिएको हुन्छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक