सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
हेल्थपत्र
काठमाडौँ, १३ जेठ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उहाँहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरेका छन । सुर्र्तीजन्य पदार्थबाट वार्षिक रु ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन् ।
उनीहरूले सुर्तीजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्तीजन्य पदार्थको लतमा फसेको दृष्टान्त सुनाए । सांसदहरूले सुर्तीजन्य पदार्थमाथि भारतमा ५८ र बङ्गलादेशमा ७३ प्रतिशत कर लिने गरेको जानकारी दिए।
सांसद कुशुम महर्जनले सुर्र्तीजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा ३९ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको भन्दै आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरे ।
सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गरे । “सुर्र्तीजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ”, उनले भने । ।
सांसद डा अत्युतम लामिछानेले किसानको उत्पादनलाई बजारसम्म ढुवानी गर्ने सवारी सधानमा शून्य करको व्यवस्था मिलाउन आग्रह गरे ।
सांसद अनुस्का श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै पसलमा नेपाल चिनाउने स्थानीय उत्पादनको बिक्री गर्ने प्रबन्ध मिलाउन सुझाव दिए ।
सांसद अफ्साना बानुले सुशासनको माग गर्दै जेनजी आन्दोलनमा उत्रिएका युवालाई झुटा आरोपमा थुनिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षणगराए ।
सांसद अभिषेकप्रताप शाहले कपिलवस्तुलगायत तराईका जिल्लामा देखिएको खानेपानीको समस्या समाधान गर्न माग गरे ।
सांसद अमरकान्त चौधरीले नेपाल–भारत सीमास्थित सप्तरीमा रहेको भन्सारमा ‘क्वारेन्टाइन’को व्यवस्था गर्न माग गरे ।
सांसद अमरेशकुमार सिंहले उखु किसानलाई उद्योगीले दिने बक्यौता र सरकारले दिने अनुदान तत्काल वितरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृता विकले खुलमखुला मदिरा बिक्री गर्न पाउने विद्यमान व्यवस्थामा सुधार गरी नागरिकको स्वास्थ्यप्रति गम्भीर बन्न आग्रह गरे ।
सांसद अम्बिकादेवी सङ्ग्रौलाले काठमाडौँको माइतीघरमा अनशनरत नागरिकको माग सम्बोधन गर्न अनुरोध गरे ।
सांसद अरबिन्द साहले आगामी आवका लागि धानको न्यूनतम् मूल्य निर्धारण गरेकमा सरकारलाई धन्यवाद दिँदै कृषि बीमा, मल, बीउ र सिँचाइको उचित प्रबन्ध गर्न आग्रह गरे ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक