नसर्ने रोगीका लागि नयाँ स्वास्थ्य सुरक्षा ढाँचा, सबै पालिकामा ‘पेन-डी प्याकेज’ आवश्यक
हेल्थपत्र
काठमाडौं , १० जेठ । नेपालमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी नसर्ने रोग (एनसीडी) समयअगावै मृत्युका प्रमुख कारण बन्दै गएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ भने सन् २०३० सम्म यो दर ७९ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको ‘नसर्ने रोग रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८२)’ अनुसार करिब २२ प्रतिशत नेपाली ३० देखि ७० वर्षको उमेरमै नसर्ने रोगका कारण अकाल मृत्युको जोखिममा रहेका छन्। पछिल्लो समय अधिकांश घरपरिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगी देखिन थाले पनि यसको नियन्त्रण र व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ।
विशेषगरी भूकम्प, बाढी, पहिरो तथा जलवायुजन्य विपद्को समयमा नसर्ने रोग भएका बिरामीको नियमित उपचार अवरुद्ध हुने, औषधिको अभाव हुने तथा जटिलता बढ्ने समस्या देखिँदै आएको छ। यही चुनौतीलाई सम्बोधन गर्न ‘पेन-डी प्याकेज’ (PEN-D Package) तयार गरिएको हो।
यो प्याकेजले विपद्को समयमा पनि नसर्ने रोगसम्बन्धी अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने उद्देश्य राखेको छ। यसअन्तर्गत औषधिको पूर्वभण्डारण, उच्च जोखिममा रहेका बिरामीको पहिचान, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन, समुदायस्तरीय अनुगमन, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम समावेश छन्।
स्वास्थ्य प्रणाली अवरुद्ध हुँदा पनि मधुमेह, उच्च रक्तचाप, मस्तिष्काघातलगायतका बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘पेन-डी प्याकेज’ ले विपद् पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनालाई एकीकृत ढाँचामा अघि बढाएको छ।
यसले समुदायदेखि राष्ट्रिय स्तरसम्म स्वास्थ्य तथा विपद् व्यवस्थापन प्रणालीबीच समन्वय बढाउँदै सेवा निरन्तरता सुनिश्चित गर्ने लक्ष्य लिएको छ। विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमित गतिशीलता भएका बिरामीलाई प्राथमिकतामा राखिएको छ।
नेपाल रेडक्रस सोसाइटीले कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘उत्थानशील नसर्ने रोग उपचार सेवा’ परियोजनाअन्तर्गत ‘पेन-डी प्याकेज’ को परीक्षण अभ्यास सम्पन्न गरिसकेको छ। कृत्रिम विपद् परिदृश्यमा आधारित अभ्यासमा स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विपद् व्यवस्थापन समितिको सक्रिय सहभागिता रहेको थियो।
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बाढी तथा डुबानको उच्च जोखिममा रहेका क्षेत्रमा नसर्ने रोगीको संख्या बढ्दै गएको भन्दै ‘पेन-डी प्याकेज’ प्रभावकारी उपाय बन्न सक्ने बताए। उनले आगामी नीति तथा कार्यक्रममा यसलाई समावेश गर्ने तयारी भइरहेको जानकारी दिए।
त्यस्तै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद्को समयमा नसर्ने रोगीको उपचार निरन्तरता ठूलो चुनौती रहेको उल्लेख गर्दै प्याकेजलाई स्थानीय नीति तथा कार्यक्रममा समेट्ने निर्णय गरिएको बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विज्ञहरूले ‘पेन-डी प्याकेज’ लाई स्वास्थ्य प्रणालीभित्र संस्थागत गर्दै देशभरका पालिकामा विस्तार गर्न आवश्यक रहेको बताएका छन्।
यो प्याकेज स्वास्थ्य तथा स्वच्छता मन्त्रालयको मार्गदर्शनमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विकसित गरिएको हो। यसमा डेनिस रेडक्रस, क्यानाडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको प्राविधिक सहयोग र नोभो नोर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग रहेको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक