वीर अस्पतालका नर्सिङ विद्यार्थीद्वारा स्वास्थ्य अवस्थाबारे प्रतिवेदन प्रस्तुत
Sharad Sharma
२०८३ कातिर्क १७ सोमबार
काठमाडौँ, ९ जेठ : वीर अस्पताल नर्सिङ क्याम्पस मा स्नातक तह नर्सिङ प्रथम वर्षमा अध्ययनरत १३ औँ ब्याचका विद्यार्थीहरूले आफ्नो समुदाय स्थलगत भ्रमण को प्रतिवेदन सफलतापूर्वक प्रस्तुत गरेका छन्।
नागार्जुन नगरपालिका वडा नं. ३, इचंगुनारायण क्षेत्रमा सञ्चालन गरिएको स्थलगत अध्ययनका क्रममा संकलन गरिएका तथ्याङ्क, सामुदायिक स्वास्थ्यको अवस्था र निष्कर्षहरू समेटेर तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको हो।
काठमाडौँ-१५, डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद् को सभाहलमा आयोजित सो कार्यक्रममा विद्यार्थीहरूले स्थानीय तहको जनसाङ्ख्यिक स्थिति, वातावरणीय सरसफाइ, स्वास्थ्य सेवाको पहुँच र स्वास्थ्य चेतनाको वर्तमान अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए।
सो विशेष प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष केशर बहादुर मानन्धरले विद्यार्थीहरूले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन अत्यन्तै प्रशंसनीय र उपयोगी रहेको बताए।
उनले यस्ता तथ्यपरक प्रतिवेदनले स्थानीय तहमा आगामी दिनमा स्वास्थ्य नीति तथा व्यावहारिक योजनाहरू तर्जुमा गर्न महत्त्वपूर्ण मार्गनिर्देशन गर्ने उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै परिषद्का महासचिव दीपक चन्द्र गौतमले विद्यार्थीहरूको मिहिनेतको प्रशंसा गर्दै यो प्रतिवेदनले समुदायको वास्तविक स्वास्थ्य अवस्थालाई उजागर गरेको बताए।
उनले यस अध्ययनबाट प्राप्त निष्कर्षहरूले स्थानीय क्षेत्रमा आगामी दिनमा प्रभावकारी स्वास्थ्य अभियानहरू सञ्चालन गर्न र स्वास्थ्य सेवाको पहुँच बढाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, सचिव तथा अस्पताल व्यवस्थापन समिति संयोजक निशा अधिकारी थापा र कार्यसमिति सदस्य मोहन कृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो।
सो अवसरमा स्वास्थ्य क्षेत्रका विज्ञ, क्याम्पसका प्राध्यापक, स्थानीय प्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तित्वहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक