किमोथेरापीमा प्रयोग हुने औषधि तीन हप्ताका लागि मात्र मौज्दात : औषधि आयातकर्ता संघ

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, ८ जेठ । नेपाल औषधि आयातकर्ता संघले क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको मूल्य समायोजन गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष पवन आचार्यले आज विज्ञप्ति जारी गर्दै २०७२ सालमा तोकिएको मूल्यमा क्यान्सरको औषधि आयात गर्न नसकिने भन्दै दीर्घकालीन समाधानका लागि सरकारले औषधिको मूल्यमा समयानुकूल समायोजन गर्नुपर्ने बताएका छन् । उनले मूल्य समायोजन नगरेसम्म आयातकर्तालाई निरन्तर आयात गर्न व्यावसायिक रूपमा सम्भव नहुने स्पष्ट समेत पारेका छन् ।

उनले राजपत्रमा प्रकाशित अन्य अत्यावश्यक औषधिको मूल्य समायोजन प्रक्रिया पनि तत्काल अगाडि बढाउन र अत्यावश्यक औषधिहरूको तत्काल आपूर्तिमा सहयोग पुग्ने गरी भन्सार सहजीकरणका आवश्यक व्यवस्था मिलाउन समेत उनले सरकारलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय मूल्यवृद्धि हुँदा समेत मूल्य समायोजन नहुँदा उत्पादक कम्पनीहरूले सरकारले तोकेको पुरानो मूल्यमा औषधि आपूर्ति गर्न असमर्थ भएका छन्, जसले आयात प्रक्रियामा प्रत्यक्ष असर पारेको संघले जनाएको छ ।

संघले हाल ति औषधिहरूको प्राथमिक तहमा करिब एक हप्ताको तथा बजार तहमा बढीमा दुई हप्ताको मौज्दात मात्र रहेको छ । जसले अत्यधिक प्रयास गर्दा जम्मा ३ हप्तासम्म धान्न सक्ने अवस्था देखिएको जनाएको छ ।

क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन अभाव देखिएको छ ।

आयातकर्ताले २०७२ सालमा तोकिएको मूल्यमा अहिले आयात गर्न नसकिने भन्दै ति औषधि आयात गरेका छैन । जसले गर्दा क्यान्सर रोगको उपचारमा समस्या परेको छ ।

संघले अध्यक्ष आचार्यको नेतृत्वमा Rational Distribution Monitoring Unit गठन गरी बजारमा उपलब्ध औषधिको पारदर्शी, न्यायोचित तथा समुचित वितरण सुनिश्चित गर्न कार्य गरेको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक