बालबालिकामा मुस्कान ल्याउन ‘५० हजार स्माइल्स नेपाल’ अभियान

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, १५ असोज । देशभरिका सरकारी विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्य सुधार गर्ने लक्ष्यसहित ‘५० हजार स्माइल्स नेपाल’ अभियान सञ्चालन गरिएको छ ।

बीएम फाउन्डेसन नेपालले संचालन गरेको अभियानमा सोसाइटी अफ नेपालीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई)ले सहकार्य गर्ने भएको छ ।

फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र एसएनएचपीईका उपाध्यक्ष डा. सागर धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार एसएनएचपीईले प्रति एक विद्यार्थी एक डलर सहयोग गर्ने भएको छ ।

फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले विद्यालय तहका बालबालिकाको मुख तथा दन्तमा देखिएको समस्या समाधान गरि ति बालबालिकामा मुस्कान ल्याउनका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सञ्चालन गरिएको जानकारी दिए ।

अभियानअन्तर्गत विद्यालय तहमा बालबालिकाको मुख स्वास्थ्य परीक्षण गर्नुका साथै मुख तथा दन्त स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी र परामर्श प्रदान गरिनेछ। ग्रामीण क्षेत्रका विद्यालयलाई समेत अभियानमा समेटेर मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।

उनले बालबालिकामा सानै उमेरदेखि मुख स्वास्थ्यसम्बन्धी ज्ञान र स्वस्थ बानीको विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको बताए ।
अभियान गत १ जुलाई २०२६ देखि सुरु भएको यस अभियान ३१ जुन २०२७ सम्म चल्नेछ । सो अवधिमा २५० बढी विद्यालयमो पुगेर मुख स्वास्थ्य परीक्षण, तथा मुख स्वास्थ्य प्रवर्द्धन गर्दै ५० हजार बालबालिकाको ‘स्वस्थ मुस्कान’ सुनिश्चित गर्नेछन् ।

उनका अनुसार अभियानमा स्वास्थ्य क्षेत्रका विद्यार्थी, इन्टर्न, स्नातकोत्तर तहका आवासीय चिकित्सक तथा स्वयंसेवकलाई परिचालन गरिनेछ। विद्यालय तथा समुदाय तहसम्म पुगेर बालबालिकाको मुख स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक सहयोग उपलब्ध गराउने योजना रहेको उनले बताए ।

एसएनएचपीईका अध्यक्ष डा. बिनयकुमार श्रेष्ठले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण हिस्सा भएकाले बाल्यकालदेखि नै यससम्बन्धी सचेतना आवश्यक रहेको बताउनुभयो। उनले अभियानका लागि संस्थाका तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा समुदायलाई समेत जोडेर जनचेतना विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालका विद्यालय तहका बालबालिकाको दाँत र मुख स्वस्थ राख्ने अभियानको प्रतिवद्धता जनाएको बताए ।

एसएनएचपीईका उपाध्यक्ष डा। धितालले ग्रामीण तथा विद्यालय तहमा मुख स्वास्थ्यसम्बन्धी जानकारी र सेवाको पहुँच अझै सीमित रहेकाले अभियानले बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने बताए । नेपालमा रहेका स्वास्थ्यकर्मी तथा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र स्रोतलाई एकीकृत गरी अभियान सञ्चालन गरिने उनले बताए ।

अभियानमा नेपाल तथा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीलाई जोड्दै बालबालिकामा मुख स्वास्थ्यसम्बन्धी व्यवहार परिवर्तन, नियमित परीक्षण र आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा एसएनएचपीईका नेपाल सम्पर्क व्यक्ति दामोदर नेपाले अभियानबाट बालबालिकाको दाँत र मुख स्वस्थ राख्न सहयोग मिल्ने बताए ।
एसएनएचपीईका बोर्ड अफ डाइरेक्टर डा. कौशल तिवारीले अभियान सफल भएसंग थप ५० हजार बालबालिकामा मुस्कान ल्याउन लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फाउण्डेशनले कान्तिपुर डेन्टल अस्पतालसंगको सहकार्यमा दुई बर्ष अघि गरेको अध्ययनमा काठमाडौँ उपत्यकाका ६०.८ प्रतिशत विद्यालयमा पढ्ने बालबालिकाको दाँतले किराले खाएको पाइएको थियो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक