नेपाल औषधि आयातकर्ता संघद्वारा रसुवाका बाढी प्रभावितलाई तीन करोड बराबरको औषधि सामाग्री हस्तान्तरण

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १५ भदौ । नेपाल औषधि आयातकर्ता संघले रसुवामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उपचारका लागि तीन करोड रुपियाँभन्दा बढी मूल्य बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संघका अध्यक्ष पवन आचार्यले औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
औषधि व्यवस्था विभागमा औषधि सामाग्री प्रदान गरेर संघका पदाधिकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई बोदार्थ पत्र पनि हस्तान्तरण गरेका छन् ।

संघले आफ्ना सदस्य औषधि आयातकर्ता तथा औषधि व्यवसायीहरूबाट संकलन गरेको ठूलो परिमाणको अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री औषधि व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो। प्राप्त औषधि तथा सामग्री बाढी प्रभावित क्षेत्रमा उपचाररत घाइते तथा बिरामीका लागि आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरिने छ ।

विपद्का कारण प्रभावित क्षेत्रमा उपचार सेवा सञ्चालनका क्रममा अत्यावश्यक औषधिको माग बढिरहेका बेला मियानले ठूलो परिमाणमा औषधि उपलब्ध गराएको हो।

मियानले उपलब्ध गराएको विवरणमा बाढीपहिरोमा घाइते तथा बिरामीको उपचारमा आवश्यक पर्ने विभिन्न प्रकारका औषधि समावेश छन् । प्यारासिटामोल, डाइक्लोफेनाक, ट्रानेक्सामिक एसिड, सेफ्ट्रियाक्सोन, मेट्रोनिडाजोल, एमिकासिन, एसाइक्लोभिर, ओन्डान्सेट्रोन, प्यान्टोप्राजोललगायतका औषधि सहयोग गरिएको छ।

त्यस्तै नर्मल स्लाइन, डेक्स्ट्रोज, रिङ्गर्स ल्याक्टेट, ओआरएस, ग्लोभ्स, मास्क, क्यानुला, ब्यान्डेज, गज, फोले क्याथेटर, ड्रेसिङ सामग्री तथा प्राथमिक उपचारका सामग्रीसमेत उपलब्ध गराइएको छ ।

विभिन्न कम्पनी तथा औषधि वितरकहरूले आ–आफ्नो तर्फबाट औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। विवरणमा एक्सेल फर्मा, यति फार्माकेम डिस्ट्रीब्युटर्स, श्री ओम ब्रदर्स, ८ पिक्स हेल्थकेयर, आरबी फार्मास्युटिकल्स, अल्पाइन फार्मास्युटिकल्स डिस्ट्रीब्युटर्स, न्यु ड्रग डिस्ट्रीब्युटर्स, फार्मनुरा, ब्लुमुन मेडिटेक फार्मा, नाइस फार्माको, बिस्ट्रा फार्मा लिंक, प्रोत्साहन ट्रेड लिंक, एएम बोइटेक, सेफाल स्वास्थ्य सेवा, एभोल्भ फार्मालगायतका कम्पनीबाट औषधि तथा सामग्री उपलब्ध गराइएको उल्लेख छ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले संघले उपलब्ध गराएको औषधिले हिमबाढीमा परेका तथा बाढीबाट प्रभावित नागरिकलाई ठूलो राहत पुग्ने बताए। विपद्का बेला उपचारका लागि अत्यावश्यक औषधि ठूलो परिमाणमा प्राप्त भएकाले प्रभावित क्षेत्रमा औषधिको समस्या हुन नदिने उनले बताए ।

महानिर्देशक भट्टराईले मियानले उपलब्ध गराएको औषधिले हिमबाढीमा परेका र प्रभावित नागरिकलाई ठूलो राहत हुने भन्दै तीन करोड रुपियाँभन्दा बढीको औषधि उपलब्ध भएकाले तत्काल औषधिको समस्या नहुने बताए ।

उनले विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त सहयोगले सरकारको राहत तथा स्वास्थ्य उपचार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै मियानका अध्यक्षसहित सम्पूर्ण सदस्य तथा सहयोगी औषधि व्यवसायीलाई धन्यवाद दिए ।

संघका अध्यक्ष आचार्यले बाढीपीडितलाई सरकारमार्फत अत्यावश्यक औषधि उपलब्ध गराउन पाउनु संघका लागि ठूलो कुरा भएको बताए। विपद्को समयमा औषधिको आवश्यकता अत्यधिक हुने भएकाले मानवीय दायित्वका रूपमा सदस्यहरूबाट सहयोग जुटाइएको उनले बताए ।

बाढीपीडितलाई सरकारमार्फत अत्यावश्यक औषधि उपलब्ध गराउन पाउनु हाम्रा लागि ठूलो कुरा हो। विपद्का बेला औषधिको आवश्यकता हुने भएकाले हामीले आफ्ना सदस्यहरूबाट औषधि संकलन गरेर सहयोग गरेका हौँ,” अध्यक्ष आचार्यले भने ।

उनले अहिले गरिएको सहयोग सुरुवात मात्र भएको बताउँदै प्रभावित क्षेत्रमा थप औषधिको आवश्यकता परे मियानले पुनः सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा औषधि संघका निवर्तमान अध्यक्ष अञ्जनकुमार पुडासैनी, उपाध्यक्षहरू पृथ्वीराज वैद्य र सुमन कायल, महासचिव मधु पौडेल, सचिव सुरेश अग्रवाल, कोषाध्यक्ष सन्दीप खनालसहित संघका कार्यसमिति तथा सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक