उपचारमा औषधि अभाव हुन नदिने एपाेनकाे प्रतिवद्वता

हेल्थपत्र

२०८३ भाद्र १२ शुक्रबार

काठमाडौं, ११ भदाै ।   नेपाल औषधि उत्पादक संघले बाढी  पहिरोबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको नियमित तथा निर्बाध आपूर्ति सुनिश्चित गर्ने प्रतिवद्वता व्यक्त गरेकाे छ । 

नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारी र महासचिव सन्तोष बरालले सयुक्त रूपमा जारी गरेकाे विज्ञप्तिमा  स्वदेशी औषधि उद्योग विपद्को समयमा राज्य र नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

औषधि मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले प्रभावित क्षेत्रको स्वास्थ्य आवश्यकता तत्काल पहिचान गरी अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त, नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न स्वदेशी औषधि उद्योगहरू राज्य र नागरिकको साथमा पूर्ण रूपमा प्रतिबद्ध छन् , विज्ञप्तिमा भनिएको छ ।

बाढी तथा पहिरोले घरबस्ती, सडक, पुल, विद्युत्, सञ्चार, उद्योग–व्यवसाय, व्यापारिक संरचना, भन्सार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीमा समेत असर पारेकाले खोज तथा उद्धार, राहत, उपचार र पुनर्स्थापनाका कामलाई तीव्र र प्रभावकारी बनाउन संघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवालासँग आग्रह संघले आग्रह गरेको छ ।

त्यस्तै, विपद्बबाट प्रभावित उद्योगी, व्यवसायी, श्रमिक, कृषक तथा सर्वसाधारणको वास्तविक क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि विशेष आर्थिक तथा नीतिगत प्याकेज ल्याउन सरकारसँग संघले आग्रह गरेको छ।

विपद् सम्पूर्ण राष्ट्रको साझा पीडा भएकाले पीडितको उद्धार, उपचार, औषधि आपूर्ति र पुनर्स्थापना राज्य, निजी क्षेत्र र समाज सबैको साझा दायित्व भएको संघले जनाएको छ।

सबै नेपाली एकजुट भएर विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि संघले आह्वान गरेको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक