क्यान्सर औषधिको अभाव कायमै
हेल्थपत्र
काठमाडौँ, ६ असार : नेपालमा अझै क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव कायम रहेको छ ।
क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायतका औषधिको अभाव विगत दुई महिनादेखि भएको हो ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले किमोथेरापी उपचारमा प्रयोग हुने औषधि ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायतको अभाव कायम रहेको बताए ।
उनले औषधिको अभाव भएकोले सिमित ठाउँमा मात्र उपलब्ध गराइएको बताए । “औषधिको अभाव रहेकोले हामीले विरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौ” उनले भने “एक–दुई दिन भित्रमा औषधिको आयातलाई सहज बनाएर विरामीलाई सजिलै उपलब्ध गराउने छौ ।”
विभागले ति औषधि पाउनका लागि जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क तोकिएको छ ।
किमोथेरापी उपचारका लागि सवभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ ।
सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ ।
नेपालमा विरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ ।
नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विरामीको उपचारलाई अभाव हुन नदिनका लागि आफूहरुले महङ्गा भएपनि औषधि नेपाल आयात गर्ने गरेको बताए ।
उनले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भोलि नै भारतबाट नेपाल आउने बताए । उनले सरकारले मूल्य समायोजन गरेपछि औषधिको अभाव नहुने बताए ।
भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक