रास्वपा महाधिवेशनः उपचारका लागि तीन एम्बुलेन्सको व्यवस्था
हेल्थपत्र
चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्को गर्मी र भिडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सक सहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।
महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधा सम्पन्न एम्बुलेन्स, औषधिसहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने जानकारी दिंदै उनले त्यस मध्ये एउटा अतिथि दीर्घातर्फ र दुई वटा दर्शकदीर्घातर्फ राखिने बताए ।
आकस्मिक उपचारका लागि आवश्यक औषधि, किटहरुसहित आकस्मिक सेवा सोही ठाउँमा दिईने र थप उपचार आवश्यक भएमा चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेस लगायत जिल्लाका ठूला अस्पतालहरुमा लगिने छ । प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति समेत बनाईएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरुमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा. प्रधानले बताए ।
चितवनमा अहिले अत्याधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट समेत सहभागी आउने हुँदा हिटस्ट्रोक हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उनको भनाई छ । खानपानमा समेत सावधानी अपनाउन आवश्यक समन्वय भईरहेको उनले बताए । जिल्लाका अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह समेत गरिएको छ ।
महाधिवेशन आईतबारबाट शुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भएपनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउने छन् । पर्यवेक्षक र शुभेच्छुकहरु ठूलो संख्यामा आउने भएकाले सोही अनुरुप तयारी गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक