निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन
हेल्थपत्र
काठमाडौं, ६ असार । सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि उपलब्ध निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न ‘फ्री हेल्थ पोर्टल’ अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै सरकारी स्वास्थ्य प्रतिष्ठान, निजी मेडिकल कलेज, निजी अस्पताल तथा सामुदायिक अस्पताललाई उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न आग्रह गरेको हो ।
निर्देशनअनुसार सबै अस्पतालले निःशुल्क शय्या (बेड) तथा निःशुल्क उपचार प्राप्त गरिरहेका बिरामीहरूको विवरण पोर्टलमा नियमित रूपमा अद्यावधिक गर्नुपर्नेछ । मन्त्रालयले यस विवरणलाई ‘रियल टाइम’ अर्थात् तत्काल अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३’ को दफा ८ ९घ० अनुसार अस्पतालको मुख्य प्रवेशद्वार र बाहिरिने स्थानमा दैनिक रूपमा उपलब्ध निःशुल्क शय्या र सेवासम्बन्धी विवरण देखिने गरी डिजिटल वा भौतिक सूचना बोर्ड राख्नुपर्नेछ ।
मन्त्रालयले उक्त सूचना बोर्डमा सर्वसाधारणले गुनासो तथा उजुरी दर्ता गर्न सक्ने गरी पोर्टलको क्यूआर कोड र वेब ठेगाना समेत अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ ।
मन्त्रालयका सूचना प्रविधि निर्देशक सुरज प्रकाश अर्यालले यस व्यवस्थाले विपन्न, असहाय तथा बेवारिसे बिरामीले झन्झटरहित रूपमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे। उनले उपचार सेवामा पारदर्शिता र जबाफदेहिता बढाउन पोर्टल प्रभावकारी हुने बताए ।
मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशनको पूर्ण पालना गर्न तथा निःशुल्क उपचार सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक