अवैध रुपमा संचालन रहेको मारिया अस्पतालका काम गर्ने चिकित्सकलाई स्पष्टिकरण सोध्ने निर्णय
हेल्थपत्र
काठमाडौँ, २८ जेठ । नेपाल मेडिकल काउन्सिलले नेपाली चिकित्सकलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
काठमाडौँको बालुवाटारस्थित मारिया हेल्थ सेन्टर प्रालि (मारिया हस्पिटल)मा गरेको स्थलगत अनुगमनका क्रममा नेपाली चिकित्सकलाई तीन दिनभित्र स्पष्टिकरण सोध्ने र तीन जना चिनियाँ चिकित्सकको चिकित्सक अभ्यासका लाइसेन्स दर्ता खारेज गरिएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
काउन्सिलले विना अनुमति संचालन गरेको हस्पिटलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. पाण्डेले उक्त स्वास्थ्य संस्था आवश्यक स्वीकृति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएको जानकारी दिए । उनले अनुगमनका क्रममा विदेशी चिकित्सकहरूबाट समेत कानूनी प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको भेटिएको बताए ।
पाण्डेका अनुसार अनुसार स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी प्रचलित कानूनी व्यवस्था विपरीत चिकित्सा अभ्यासमा संलग्न तीन जना चिनियाँ नागरिकको अस्थायी दर्ता ९एफएमडी० तत्काल निलम्बन गरिएको छ। आवश्यक अनुमति तथा निर्धारित मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न रहेको आधारमा उक्त निर्णय गरिएको काउन्सिलले स्पष्ट पारेको छ।
यस्तै, संस्थाको नाम तथा सेवा प्रवाहसँग सम्बन्धित बोर्डमा आफ्नो नाम राखेर काउन्सिलको आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेका नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। प्राप्त स्पष्टीकरणका आधारमा थप निर्णय गरिने काउन्सिलले जनाएको छ।
अनुगमनबाट गम्भीर प्रकृतिका अनियमितता देखिएको भन्दै काउन्सिलले उक्त संस्थालाई तत्काल भौतिक रूपमा बन्द ९सिलबन्दी० गर्न तथा सञ्चालकहरूविरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको छ।
त्यसैगरी, पर्यटकीय वा अन्य गैर–व्यावसायिक भिसामा नेपाल आएर स्वास्थ्य सेवा प्रदान गरेको पाइएको विदेशी नागरिकहरूको भिसा तथा श्रम स्वीकृतिसम्बन्धी विषयमा आवश्यक छानबिन र कारबाहीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ।
काउन्सिलले अनुमति नलिई सञ्चालन भइरहेका स्वास्थ्य संस्था तथा दर्ता प्रक्रियाबिना लुकिछिपी बिरामी परीक्षण गर्ने चिकित्सकहरूको गतिविधिबारे जानकारी भएमा प्रमाणसहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान तथा विवरण पूर्ण रूपमा गोप्य राखिने काउन्सिलले जनाएको छ।
जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा हुने अनियमितता, गैरकानूनी चिकित्सा अभ्यास तथा व्यावसायिक आचारसंहिता विपरीतका गतिविधिप्रति काउन्सिलले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक