तिलगंगा आँखा बैंकलाई १०८ वटा आँखा दानको फर्म हस्तान्तरण

हेल्थपत्र

२०८३ जेठ २९ शुक्रबार

काठमाडौँ, २७ जेठ । लायन्स इन्टरनेशनल स्थापनाको १०८ वर्ष पूरा गरी १०९औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरलाई विशेष र अर्थपूर्ण बनाउँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले एक उदाहरणीय मानवीय कार्य सम्पन्न गरेको छ ।

डिस्ट्रिक्टले नेपाल आँखा बैंक तिलगंगा आँखा प्रतिष्ठान, गौशालालाई १०८ वटा आँखा दान (मरणोपरान्त कर्निया दान) को सहमति पत्र (फर्म) भरेर औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने मूल नारा र अन्धोपन निवारण गर्ने लायन्सको अन्तर्राष्ट्रिय गौरवमय इतिहासलाई आत्मसात् गर्दै डिस्ट्रिक्ट ३२५ के नेपालका लायन लिडर तथा सदस्यहरूले सामूहिक रूपमा यो सामाजिक प्रतिवद्धता जनाएका हुन् ।

संस्था १०८ वर्ष पार गरेको सुखद उपलक्ष्यमा १०८ जना दाताहरूबाट संकलन गरिएको उक्त आँखा दान फर्म नेपाल आँखा बैंकका अधिकारीहरूलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईंले नेतृत्व गर्दै लायन्स क्लब्स इन्टरनेशनलले विश्वभर नै दृष्टि संरक्षण र अन्धोपन विरुद्ध निरन्तर काम गर्दै आएको स्मरण गर्नुभयो । गभर्नर हुमागाईंले भने,मरणोपरान्त गरिने आँखा दानले दृष्टिविहीन व्यक्तिहरूको जीवनमा नयाँ उज्यालो छर्न सक्ने भएकाले यो कार्य आफैँमा महादान हो । हाम्रो संस्थाको १०८औँ वर्षगाँठलाई योभन्दा सुन्दर र सेवामूलक ढंगले मनाउन नसकिने भएकाले डिस्ट्रिक्ट ३२५ के नेपालले यो ऐतिहासिक कदम चालेको हो ।

आँखा दान फर्म बुझ्दै तिलगंगा आँखा प्रतिष्ठान तथा नेपाल आँखा बैंकका प्रतिनिधिले डिस्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं तथा डिस्ट्रिक्ट ३२५ के नेपालको सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गरे ।

समाजमा अझै पनि आँखा दान सम्बन्धी भ्रम र चेतनाको कमी रहेको अवस्थामा लायन्स जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व तहबाटै यति ठूलो संख्यामा सामूहिक आँखा दानको घोषणा हुनुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र धेरैलाई यस पुण्य कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास उनीहरुले व्यक्त गरे ।

मानवीय सेवा, भ्रातृत्व र सामाजिक रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको लायन्स इन्टरनेशनलले आफ्नो १०८ वर्षको यात्रा पार गर्दा नेपालमा पनि स्वास्थ्य, शिक्षा, पर्यावरण र विपद् व्यवस्थापनका क्षेत्रमा अमूल्य योगदान पुर्‍याउँदै आएको छ । डिस्ट्रिक्ट ३२५ के नेपालको यो पछिल्लो कार्यले लायन्सको सेवाको भावनालाई थप उचाइमा पुर्‍याएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक