१२ बर्ष मुनिका बालबालिका पनि चुरोटको लतमा

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार

काठमाडौँ, १७ जेठ : बालबालिका पनि सुर्तीजन्य पदार्थ सेवन गरिएको पाइएको छ ।

‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय पढ्ने १२ बर्ष मुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने पाइएको बताइन् ।

परिषद्ले सातवटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकालाई गरिएको अध्ययन गरेको थियो ।

उनका अनुसार अध्ययनमा १० बर्ष मुनिका बालबालिकालाई चुरोटको एक सर्को तान्ने गरेका छन् ।

उनले ५७ प्रतिशत मानिसहरु विहान उठ्न वित्तिकै चुरोट खाने गरेको पाइएको बताइन् । ७४ प्रतिशत सेवनकर्ता चुरोट छाड्न कोशिस गरेपनि नसकिरहेको पाइएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशार किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेप जस्तामा स्वादिलो र मिठास सुगन्ध आउने फ्लेवर राखेर विक्री गर्ने पाइएको बताए ।

उनले अहिले किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढेकाले अभियान संचालन गरेर रोक्नुपर्ने बताए ।

उनले भेप र हुक्का जस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्न समेत आग्ह गरे । उनले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्नका लागि कानून कार्यन्वयनमा जोड दिनुपर्ने बताए । उनले मुलुकलाई सुर्तीमुक्त अभियान संचालन गरेर मुटु, फोक्सो, मिगौला र क्यान्सर जस्ता रोगको उपचारमा लाग्ने खर्च जोगाउन सकिने बताए ।

स्वास्थ्य सेवा विभागमा निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थ समाजिक बिष रहेकोले सवैको सहयोगबाट नै रोक्न सकिने बताए ।

“सुर्तीजन्य पदार्थ समाजिक बिष हो । यो बिषलाई हामी सवै मिलेर समाजबाट हटाउनुपर्दछ” उनले भने ।

निमित्त महानिर्देशक डा. भट्टचनले सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रण गर्न सरकार लागिपरेको बताए ।

कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.बासुदेव उपाध्यायले आफ्नो घरमा कोही नै सुर्तीजन्य पदार्थ सेवनकर्ता छ भने छोडाउनुपर्ने बताए ।

“आफ्नो घरमा कसैले सुर्तीजन्य पदार्थ सेवन गर्दछन भने पहिलो तिनीहरुलाई छोडाऔ” उनले भने ।

कार्यक्रम स्वास्थ्य अभियन्ता शान्तराज मुल्मी, डा.जयकुमार गुरुङ, ज्योति बाँनियाले युवालाई नै सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न अभियान संचालन गर्नुपर्ने बताए ।

‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ दिवस आज मनाइएको छ


नेपालमा हरेक बर्ष ३९ हजार भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । धूम्रपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गर्दछ

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक