चितवनमा नेपाल चिकित्सक संघको सम्मेलन शुरु

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार

चितवन, १६ जेठ । नेपाल चिकित्सक संघले आयोजना गरेको अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ यहाँ शुरु भएको छ । संघले आफ्नो ३० औं सम्मेलन वीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालको सभाहलमा शुरु गरेको हो ।

संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका बिशेषज्ञ चिकित्सकहरु, नर्स, स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी छन् । साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन्  ।

संघका चितवन जिल्ला सचिव डा महेन्द्र अग्रहरीका अनुसार प्यानल छलफल शुरु भएको छ । तीन वटा सभाकक्षमा छुट्टाछुट्टै छलफल भएको उहाँले जानकारी दिनुभयो । यसैगरी कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण गरिएको छ ।
कार्यपत्र ४० वटा र कार्यप्रगति ३० वटा रहेका छन् । आज बिहानबाट प्राविधिक सत्र शुरु भएको हो । आईतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ भने साँझ समापन हुनेछ ।

कार्यक्रममा देशभरबाट ३५० जना सहभागी रहेका छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उनको भनाई छ ।

हरेक दुई ÷दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीन÷तीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा “आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण” भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागत सम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।

सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रीयत रहेर वैज्ञानिक सत्रहरु शुरु भएका छन् । कार्यक्रममा स्वास्थ्य सचिव डा। विकास देवकोटा लगायत सरकारी निकायका अधिकारीहरु पनि सहभागी हुनुहुन्छ ।
सम्मेलन आइतबारसम्म चल्नेछ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक