उदयपुरमा ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो’ आयोजनाः ७ हजारभन्दा बढी लाभान्वित

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

उदयपुर, २५ असाेज । मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो आयोजना’ ले सन् २०२६ को एक वर्षे वार्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

१ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६ (१५ असोज २०८२ देखि १४ असोज २०८३) सम्म कार्यान्वयन गरिएको यस आयोजनाले उदयपुर जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा बाल कल्याण, स्वास्थ्य, पोषण, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

आयोजना जिल्लाका रौतामाई, ताप्ली, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिका तथा कटारी र त्रियुगा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन गरिएको थियो। एक वर्षको अवधिमा आयोजनाबाट ३,६१४ बालबालिकासहित कुल ७,६८४ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

आयोजनाले स्वास्थ्य, पोषण तथा जीविकोपार्जन सुधारमा विशेष जोड दिएको थियो। जन्मेदेखि ५९ महिनाका १,३७४ बालबालिकाको नियमित वृद्धि अनुगमन गर्दा ८७ प्रतिशतको स्वास्थ्य स्थिति सामान्य पाइएको छ। १७ वटा स्वास्थ्य चौकीलाई सुदृढ गर्दै ५,३१२ बालबालिकाको स्वास्थ्य परीक्षण गराइएको थियो । यस्तै, स्वास्थ्य तथा पोषणमैत्री उपकरण समेत हस्तान्तरण गरिएको छ।

यस्तै, १० जना अपाङ्गता भएका बालबालिकालाई ह्विलचियर तथा सहायक सामग्री वितरण गरिएको छ। कृषि तथा जीविकोपार्जनतर्फ १६५ वटा उत्पादक समूहका ३,६०७ कृषकहरूलाई आधुनिक कृषि प्रणाली र मेसिनरी सहयोग उपलब्ध गराइएपछि कृषकहरूको औसत मासिक आम्दानी बढेर २३ हजार ३०० सम्म पुगेको छ।

शिक्षा, सीप विकास र बाल संरक्षणका क्षेत्रमा आयोजनाले ५,३८० दर्ता भएका बालबालिकालाई स्कुल झोला र टीसर्ट वितरण गर्नुका साथै ४९ जना युवाहरूलाई कम्प्युटर, ब्युटिसियन र मोबाइल मर्मतसम्बन्धी ३९० घण्टे व्यावसायिक तालिम प्रदान गरेको छ। विद्यालयहरूमा पोषणयुक्त खाजाका लागि करेसाबारी स्थापना र ५ हजार ६०० फलफूलका बिरुवा समेत वितरण गरिएको छ।

आयोजनाको सफल समापनका अवसरमा आयोजक संस्थाहरूले स्थानीय तह, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि बाल संरक्षण, स्वास्थ्य र दिगो जीविकोपार्जनका लागि स्थानीय सरकार र समुदायसँगको साझेदारी निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक