डिजिटल स्वास्थ्यलाई राष्ट्रिय नीतिसँग जोड्नुपर्ने

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौं, १८ असाेज । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले स्वास्थ्य सूचना विज्ञानका दक्ष जनशक्तिका लागि राष्ट्रिय स्तरमा अवसर विस्तार गर्नुपर्ने बताएकी छन्।

यस विषयलाई संसद् तथा सम्बन्धित निकायमा उठाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन्।

नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसनले काठमाडौंमा आयोजना गरेको ‘NHIA CONNECT 2026’ कार्यक्रममा  बोल्दै उनले स्वास्थ्य सूचना विज्ञानका विज्ञहरूका लागि अवसरहरू राष्ट्रिय नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइन्।

डा. कार्कीले कार्यक्रमका विभिन्न सत्र र छलफलबाट यस क्षेत्रका विद्यमान चुनौती, सम्भावना र आगामी प्राथमिकताबारे महत्वपूर्ण दृष्टिकोण तथा नयाँ विचार प्राप्त भएको बताइन्।

एसोसिएसनका अध्यक्ष दीपबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सूचना विज्ञानको क्षेत्रमा कार्यरत पेशेवर, शैक्षिक संस्था, सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

सहकार्य र दक्ष जनशक्तिमा जोड

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेल, काठमाडौं विश्वविद्यालयका प्रा. रवीन्द्र बिष्ट, TeleHealth Export का रमेश भट्ट, HCMA का अध्यक्ष डा. होमप्रसाद अधिकारी, स्वास्थ्य सेवा विभागको IHIMS का शेषकान्त रानाभाट तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. नन्दबहादुर सिंहलगायतको उपस्थिति थियो।

वक्ताहरूले नेपालको स्वास्थ्य सूचना प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन सहकार्य, दक्ष जनशक्ति विकास, अनुसन्धान तथा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए।

कार्यक्रमका विभिन्न सत्रमा डिजिटल स्वास्थ्य प्लेटफर्म, स्वास्थ्य तथ्याङ्कको उपयोग, स्वास्थ्य बीमा तथा सेवा प्रवाहमा प्रविधिको भूमिका, स्वास्थ्य सूचना प्रणाली, दक्ष जनशक्ति विकास, अनुसन्धान तथा शैक्षिक र नीतिगत सुधारका विषयमा छलफल भएको थियो।

डिजिटल पहललाई राष्ट्रिय रणनीतिसँग जोड्नुपर्ने

सहभागीहरूले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन डिजिटल स्वास्थ्यसम्बन्धी पहललाई राष्ट्रिय स्वास्थ्य रणनीति तथा नीतिसँग प्रभावकारी रूपमा जोड्नुपर्ने बताए।

स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई गति दिन सरकारी, शैक्षिक, निजी तथा प्राविधिक क्षेत्रबीचको सहकार्य थप सुदृढ गर्नुपर्ने धारणा पनि उनीहरूले राखे।

आयोजक संस्थाका अनुसार कार्यक्रमले स्वास्थ्य सूचना विज्ञानसँग सम्बन्धित सरोकारवालाबीच संवाद, ज्ञान आदानप्रदान र सहकार्यका लागि साझा मञ्च प्रदान गरेको छ।

कार्यक्रमबाट प्राप्त छलफल, अनुभव तथा सुझावले आगामी दिनमा थप अनुसन्धान, सहकार्य तथा दीर्घकालीन पहल अघि बढाउन आधार दिने एसोसिएसनको अपेक्षा छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक