नेपालमा पहिलो पटक ‘पुरुष स्वास्थ्य क्लिनिक’ सञ्चालनमा

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, ७ असोज : नेपालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ‘पुरुष स्वास्थ्य क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्माले पुरुषत्व सम्बन्धि स्वास्थ्य समस्याको उपचारका लागि क्लिनिकको शुभारम्भ गरे ।

उनले पुरुषको यौन तथा यौनिकतासंग जोडिएका समस्या एकै ठाउँमा समाधान गर्नका लागि क्लिनिक सञ्चालन गरिएको बताए ।
“पुरुषका यौन सम्बन्धि समस्याहरु वृहत तथा वहुपक्षिय हुन्छन्” उनले भने, “त्यस्ता समस्याहरु एकै ठाउँबाट समाधान गर्न वहुविशेषज्ञ सेवा दिने गरि क्लिनिक स्थापना गरिएको हो ।”

महाराजगञ्ज मेडिकल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. खेमबहादुर कार्कीले निःसन्तान नहुनुमा पुरुष पनि जिम्मेवारी भएकोले पुरषत्वका सम्बन्धि स्वास्थ्य उपचार गर्नका लागि क्लिनिक संचालन गरिएको बताए ।

उनले पुरुषमा हुने पिसाव तथा प्रोस्टेट ग्रन्थी, अण्डकोष तथा पुरुष यौन अङ्गसंग सम्बन्धित समस्याहरु, शुक्रकिट र प्रजननसंग सम्बन्धि समस्या, यौन दुर्बलता वा यौन जीवनमा आएका अनकौ उतारचढावले पुरुषको जीवनमा यौन सन्तुष्टि नहुने मात्र नभई यौनजोडीमा समेत तनाव उत्पन्न हुने, घरेलु हिंसा तथा यौन हिंसा हुने भएकोले त्यसबाट रोक्न पुरुषत्वव सम्बन्धि उपचार गर्न क्लिनिकमा हुने जानकारी दिए ।

उनले यौन इच्छाको कमी हुने, यौन उत्तेजना कमी हुने, चरम आनन्दको अवस्थामा नपुग्ने, पीडादायी यौन सम्पर्क हुने, यौन आनन्द नभएर सन्तुष्टी हुन नसक्ने अवस्थाहरुले व्यक्तिको यौन आनन्द वा सन्तुष्टी अनुभव गर्ने क्षमतालाई घटाइरहेको र यी समस्या उच्च रक्तचाप, मधुमेह, मुटु तथा रक्तनलीका समस्या, लगायत दीर्घकालीन नसर्ने रोगहरु, तनाव, चिन्ता, जस्ता मानसिक समस्याहरुबाट हुने गरेको भन्दै त्यसको समाधानका लागि क्लिनिक सुरु गरिएको बताए ।

नेपालमा पहिलो पटक सन् २०२४ मा गरिएको यौन दुर्वलता सम्बन्धि अध्ययनले प्रत्येक तीन जनामध्ये दुई जना (६८ प्रतिशत) मा यौन दुर्बलता रहेको देखिएको उनको भनाई रहेको छ ।

त्रिवि अस्पतालले संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, सुनौलो परिवार नेपाल र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)को सहयोगमा क्लिनिक सञ्चालन गरिएको हो ।

बहिरङ्ग सेवामार्फत क्लिनिकमा हरेक दिन विहान ९ बजे देखि दिउसो १ बजेसम्म बिरामीको प्रारम्भीक जाँच र आवश्यक स्वास्थ्य परीक्षण गरिन्छ । सोमबार, मंगलबार र विहीबार समस्याको प्रकृति हेरी विशेषज्ञ सेवा समेत उपलव्ध गराईन्छ ।

क्लिनिकमा मुत्ररोग विशेषज्ञ, स्नायुरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र हर्मोन वा ग्रन्थी विशेषज्ञ लगायतले एकै ठाउँबाट सेवा दिनेछन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक