सांसदद्वारा अंगदानको घोषणा
हेल्थपत्र
भक्तपुर,२८ साउन । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरका तीन सांसदसहित नौ जनाले मृत्युपछि अङ्गदान गर्ने घोषणा गरेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँहरूले मृत्युपछि आफ्नो अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।
भक्तपुरका सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गङ्गालक्ष्मी अवाल तथा पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डेसहित नौ जनाले अङ्गदानको घोषणा गरे ।
यससँगै नेपालमा मस्तिष्क मृत्यु भएपछि अङ्गदान गर्ने मञ्जुरी दिने व्यक्तिको सङ्ख्या दुई हजार ७ सय ९९ पुगेको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले जीवित दाताबाट अङ्ग लिएर प्रत्यारोपण गर्दा दाता र ग्रहणकर्ता दुवैको उपचार तथा व्यवस्थापनमा बढी खर्च हुने भएकाले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान हुने प्रणालीलाई विस्तार गर्नुपर्ने बताइन् ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान हुन सके प्रत्यारोपणको खर्चसमेत तुलनात्मक रूपमा कम हुने र जीवित व्यक्तिबाट अङ्ग निकाल्नुपर्ने अवस्था अन्त्य हुने उनले बताइन्। अङ्गदान तथा प्रत्यारोपण सेवा विस्तारका लागि केन्द्रलाई आवश्यक जग्गा र भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने मागसमेत उनले गरिन् ।
कार्यक्रममा केन्द्रका प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठले नेपालमा मिर्गौला रोगको समस्या बढ्दै गएको बताउनुभयो। मिर्गौला फेल भएका धेरै बिरामी उपचारको पहुँचमा रहे पनि अङ्गको अभावका कारण कतिपयले ज्यान गुमाउनुपरेको उनले बताए ।
मिर्गौला रोगको पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतना विस्तार गर्नुपर्ने बताउँदै डा। श्रेष्ठले अङ्गदानको महत्वबारे पनि व्यापक रूपमा जानकारी गराउन आवश्यक रहेको बताए । यस्ता जनचेतनामूलक कार्यक्रमले अङ्गदानप्रति सकारात्मक धारणा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले केन्द्रको भौतिक पूर्वाधार विकाससँगै स्वास्थ्यकर्मी तथा कर्मचारीको वृत्ति विकासमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सांसद राजीव खत्रीले अङ्गदानसम्बन्धी जनचेतना विस्तारका लागि आफूले निरन्तर पहल गर्ने बताए। अङ्गदानको माध्यमबाट नेपाली नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।
सांसद रुकेश रञ्जितले नेपालमा अङ्ग प्रत्यारोपण सेवा विस्तारका लागि सातवटै प्रदेशमा प्रत्यारोपण केन्द्र स्थापना गर्नुपर्ने बताए। अङ्गको अभावमा उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न राज्यले प्रत्यारोपण सेवामा थप लगानी गर्नुपर्ने उनको भनाइ थियो।
सांसद गङ्गालक्ष्मी अवालले अङ्गदान अरूको जीवन बचाउने पुण्य कार्य भएको बताइन् । अङ्गदानप्रति समाजमा रहेका नकारात्मक धारणा हटाउन व्यापक जनचेतना आवश्यक रहेको उनले बताइन् ।
उनले अङ्गदानलाई मृत्यु पश्चात् पनि अरूलाई जीवन दिने मानवीय कार्यका रूपमा बुझ्नुपर्ने बताउँदै अङ्गदानको संस्कार विकास गर्न सबै पक्षले योगदान गर्नुपर्ने धारणा राखिन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक