स्वास्थ्य मन्त्री समक्ष स्वास्थ्यकर्मी सुरक्षा सम्वन्धी ऐनको केही बुँदा संसोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन
हेल्थपत्र
काठमाडौँ, २७ साउन । स्वास्थ्य मन्त्री निशा मेहता समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ को केही बुँदा संसोधनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदलले आज उनलाई प्रतिवेदन बुझाएको हो ।
गत ९ साउनका दिन वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि आएका एक जना बिरामीको मृत्यु पछि अराजक भीडले डिउटीमा खटिएका चिकित्सक माथि आक्रमण गरेको थियो ।
त्यसको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन गरेको थियो । सरकारले आन्दोलनरत चिकित्सकहरुसंग गत १३ गते सम्झौँता गरी आन्दोलन स्थगित गराउँदा ५ बुँदे सहमति समेत गरेको थियो । सोही सहमति अनुसार ऐनका केही बुँदा संसोधनका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो ।
कार्यदलले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ का दफा २, ३ र १५ तथा ‘मुलुकी अपराध संहिता, २०७४’ का दफा २३२ र २३३ मा आवश्यक संशोधन गर्नुपर्ने विषयमा कानुनी सुझावसहित प्रतिवेदन तयार पारेको जनाएको छ।
प्रतिवेदन बुझाउने क्रममा कार्यदलले आफूहरूमाथि विश्वास गरी जिम्मेवारी दिएकोमा मन्त्री, सचिव तथा मन्त्रालय परिवारप्रति आभार व्यक्त गरेको थियो।
महाशाखाका निर्देशक डा. रायमाझीको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलमा राई वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी, नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. संयुक्त आचार्य, नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. राकेश शाह र कानून मन्त्रालयका दिपेश खनाल सदस्य तथा स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत सुरेशप्रसाद चौलागाईं सदस्य–सचिव रहेका छन्।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक