सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं, ३२ असार । सरकारले विपन्न,असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत ९० दिनको अवधिमा २,२०० भन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। पोर्टलमार्फत अस्पतालमा उपलब्ध निःशुल्क शय्या र रगतको मौज्दातबारे वास्तविक समय (रियल–टाइम) मा जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध हुने अस्पतालको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो सातामात्र १३ अस्पताल थपिएसँगै हाल प्रणालीमा आबद्ध अस्पतालको संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा।समिरकुमार अधिकारीले जानकारी दिए।
पोर्टलमा आबद्ध प्रत्येक अस्पतालले आफ्नो कुल शय्या संख्या र त्यसको १० प्रतिशत बराबर अनिवार्य रूपमा छुट्याउनुपर्ने निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्दै आएका छन्। साथै ती शय्यामध्ये कति प्रयोगमा छन् र कति खाली छन् भन्ने जानकारी पनि पोर्टलमा उपलब्ध गराइन्छ।

यस प्रणालीमार्फत विपन्न बिरामी वा उनका आफन्तले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्याको अवस्था हेर्न सक्नेछन्। पोर्टलमा विभिन्न रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दातसमेत अद्यावधिक हुने भएकाले आवश्यक रगतको जानकारी पनि सहजै प्राप्त गर्न सकिन्छ।

सरकारले संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य उपचारको हक कार्यान्वयन गर्न तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड,२०७७को प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिमा आधारित यो प्रणाली विकास गरेको हो। उक्त मापदण्डको दफा ७०(घ) अनुसार अस्पतालहरूले कुल शय्याको कम्तीमा १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका निम्ति अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था छ।

प्रवक्ता डा. अधिकारीका अनुसार प्रणाली कार्यान्वयनसँगै संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य उपचारको अधिकार उपयोग गर्ने नागरिकको संख्या क्रमशः बढ्दै गएको छ।

मन्त्रालयले निःशुल्क स्वास्थ्य पोर्टलअन्तर्गत रक्त सूचना पोर्टल समेत सञ्चालनमा ल्याएको छ। यसबाट नागरिकले देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको मौज्दातसमेत सहज रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ।

प्रवक्ता डा.अधिकारीका अनुसार पोर्टल सञ्चालनमा आएयता हालसम्म १ हजार ७६० भन्दा बढी नागरिकले निःशुल्क शय्याको सुविधा प्राप्त गरिसकेका छन्।
देशका प्रमुख अस्पतालहरूमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सबैभन्दा धेरै निःशुल्क शय्या उपलब्ध छन्। त्यहाँ रहेका कुल २५१ निःशुल्क शय्यामध्ये सोमबार अपराह्नसम्म सबै शय्या खाली रहेका थिए। यस्तै,निःशुल्क शय्याको सबैभन्दा बढी उपयोग भने वीर अस्पतालमा भएको छ, जहाँ उपलब्ध ९६ निःशुल्क शय्यामध्ये १९ बिरामी उपचाररत रहेका छन्।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक