भरतपुर अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट पायो ९२ करोडभन्दा बढी भुक्तानी
हेल्थपत्र
चितवन, २४ असार । स्वास्थ्य बीमा बोर्डबाट यहाँको सरकारी भरतपुर अस्पतालले यस आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७३६ भुक्तानी पाएको छ । अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेवापत अस्पतालले यो भुक्तानी पाएको हो ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्ष र यस आर्थिक वर्षको मंसिरसम्मको भुक्तानी यस आर्थिक वर्षमा आएको हो । त्यस यताको झण्डै रु।३६ करोड भुक्तानी आउन बाँकी छ ।
अस्पतालले बिसं. २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमा मार्फत् अस्पतालले रु २ अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ । गत आर्थिक वर्षमा ४ लाख ४१ हजार पटक बीमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा दिईसकेको छ ।
अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, धादिङ लगायतका २२ जिल्लाभन्दा बढीबाट बिरामी बीमामार्फत् सेवा लिन आउने गर्दछन् । हाल स्वास्थ्य बीमा भएकाहरुले रिफर ल्याउनु पर्ने व्यवस्था नभएपछि बिरामीलाई सहज भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगाले बीमाका बिरामीलाई उच्च प्राथमिकता दिंदै प्रतिक्षा सूचि घटाउने गरी अस्पतालले काम गरिरहेको बताए । अस्पतालमा लामो समय पालो कुर्नुपर्ने विभागलाई चुस्त दुरुस्त बनाएर साँझ बिहान समेत काम गरेर प्रतिक्षा सूचि घटाईएको छ । एमआरआईका एक महिना १५ दिनसम्म प्रतीक्षामा बस्नुपर्ने बिरामीलाई १५ दिनभन्दा बढी प्रतीक्षा गर्नु नपर्ने बनाईएको छ ।
भिडियो एक्सरेको एक हप्ताको सूचि घटाएर प्रतीक्षा गर्न नपर्ने बनाईएको छ । सिटी मेसिनमा समस्या आएपछि मर्मत नभएसम्मका लागि निजी अस्पतालसँग सहकार्य गरेर बीमाको दररेटमा सेवा दिईएको उनले बताए।
अनलाईन मार्फत् टिकट काट्ने व्यवस्था मिलाईएको छ । दैनिक झण्डै दुई सय हाराहारीले अनलाईन मार्फत् टिकट काट्न थालेका छन् । यो संख्या चार सय हाराहारी पुग्ने अनुमान छ । अस्पतालले आठ वटाबाट नगद काउन्टर बढाएर १० पु¥याएको छ । बगालेले भने “अस्पतालमा आउने बिरामी प्रतीक्षा सूचिमा बस्न नपरोस् भनेर काम गरिरहेका छौं ।”
स्वास्थ्य बीमा बोर्डले पछिल्लो समय जारी गरेको औषधि र सेवा शुल्क कतिपयमा खरिद भन्दा निकै कम हुँदा समेत सेवा दिईरहेको उनले बताए । अस्पतालले पत्राचार गरेको भन्दै उनले यद्यपी काम नरोकेको बताए ।
कतिपयले सेवा रोकेको भएपनि भरतपुर अस्पतालले औषधिमा नोक्सान व्यहोरेर पनि सेवालाई निरन्तरता दिएको उनले बताए ।
बीमा बोर्डको नयाँ शुल्कसँगै बहिरंग सेवामा रु२५ हजारसम्मको सेवा लिंदा पहिलेको तुलनामा मूल्य घटेपछि अहिले निकै बढी औषधि र सेवा लिने अवसर बिरामीले पाएका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक