नेपाल आँखा अस्पतालमा आइतबार पनि नियमित सेवा
हेल्थपत्र
काठमाडौँ, ३० जेठ ।त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ले बिदाको दिन आइतबार समेत नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालन गरिरहेको जनाएको छ।
नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित अस्पतालले आइतबारदेखि शुक्रबारसम्म विशेषज्ञसहितको नियमित सेवा उपलब्ध गराउँदै आएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँका अनुसार हरेक दिन बिहान ८:३० बजेदेखि बिरामी दर्ता सुरु हुने तथा दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकमार्फत जाँच, परामर्श र उपचार सेवा प्रदान गरिन्छ।
अस्पतालमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ र प्राविधिक जनशक्तिमार्फत गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। हाल अस्पतालमा १६ जना नेत्ररोग विशेषज्ञ, एक जना एनेस्थेसियोलोजिस्ट, सात जना अप्टोमेट्रिस्ट, तीन जना फेलोसहित करिब १५० जना कर्मचारी कार्यरत छन्।
अस्पतालका अनुसार दैनिक करिब ७०० देखि ९०० जना बिरामीले सेवा लिने गरेका छन्।
मोतिबिन्दु, रेटिना, जलविन्दु (ग्लुकोमा), कर्निया तथा बाल आँखा रोगसम्बन्धी जटिल उपचार र शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन भइरहेको छ।
अस्पतालबाट बहिरङ्ग (ओपीडी) सेवा, विशेषज्ञ परामर्श, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायत विभिन्न उपचार सुविधा उपलब्ध छन्। साथै, २४सै घण्टा आकस्मिक सेवा र अन्तरङ्ग (इन पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा पनि बिरामीले निरन्तर उपचार पाउने व्यवस्था रहेको अस्पतालले जनाएको छ।
शल्यक्रिया सेवाअन्तर्गत मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन हुँदै आएको अस्पतालले जनाएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक