त्रिवि शिक्षण अस्पताललाई काठमाडौँ महानगरद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण
हेल्थपत्र
काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बहिरंग सेवा (ओपीडी)लाई बिरामीमैत्री बनाउन एक करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् ।
यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्यामको क्षमता वृद्धि गरिएको छ ।
यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरि प्रक्रियाबाट एक करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएका हुन् ।
उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् ।
‘विरामी र विरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ । उहाँहरुलाई उपचार गराउने क्रममा झन पीडा र सकस नहोस् । पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस् । यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ । यसका लागि हाममीले सहयोग गरेका हौँ,’ उनले भनिन् ।
अस्पतालका कार्यकारी निर्देशक आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे ।
‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ,’ उनले भने ।
कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा डा पवनराज चालिसे र प्राडा गोपाल सेढाइँले, महानगरपालिकाबाट अस्पतालले नियमित सहयोग प्राप्त गरिरहेको बताउँदै यो सहयोगबाट अस्पतालको सेवा व्यवस्थापनमा सहज भएको धारणा राख्नुभयो ।
कार्यक्रममा उहाँहरुले महानगरपालिकाबाट नियमित साथ आवश्यक रहेको उल्लेख गरे ।
महानगरपालिकासँगै वडा कार्यालयले पश्चिम क्षेत्रबाट अस्पताल आउने मार्ग खुलाउन सहयोग गरेको वडाध्यक्ष प्रेम थापाले जानकारी दिए ।
महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के सी ले जानकारी दिए ।
‘अस्पतालको सेवा व्यवस्थापनमा महानगरपालिकाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ । यसबाट महानगरबासीलाई लाभ हुनेछ,’ के सी को भनाइ थियो ।
महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक