जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे बैंकिङ कसुरमा पक्राउ

हेल्थपत्र

२०८३ जेठ २१ बिहीबार

काठमाडौँ, २० जेठ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकी मेडिकल कलेजका अध्यक्ष तथा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ। प्रहरीले बैंकिङ कारोबारसँग सम्बन्धित एक प्रकरणमा उनलाई धनुषास्थित जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध बैंकबाट लिइएको कर्जाको उपयोग र त्यससँग सम्बन्धित कागजातबारे गम्भीर प्रश्न उठेपछि अनुसन्धान अघि बढाइएको जनाइएको छ।

सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा कर्जा स्वीकृत गराउँदा पेश गरिएका विवरण, धितो मूल्याङ्कन तथा कर्जा उपयोगका विषयमा शंका उत्पन्न हुने आधार भेटिएका छन्। कर्जा प्राप्तिको क्रममा परियोजनासम्बन्धी आवश्यक प्रक्रिया पूरा नगरी तथा धितोको मूल्य अस्वाभाविक रूपमा बढाएर देखाइएको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ।

बैंकबाट निश्चित उद्देश्यका लागि लिइएको रकम सोही प्रयोजनमा प्रयोग नभएको देखिएको छ। यससँगै पटक–पटक वित्तीय सुविधाको दुरुपयोग भएको हुन सक्ने विषय पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भएपछि पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको सीआईबीले जनाएको छ। घटनासँग सम्बन्धित आर्थिक कारोबार, कागजात तथा अन्य सम्भावित संलग्न व्यक्तिको भूमिकाबारे समेत अध्ययन भइरहेको छ।

राम जानकी हेल्थ फाउन्डेसनद्वारा सञ्चालित जानकी मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त चिकित्सा शिक्षण संस्था हो। दुई दशकअघि स्थापना भएको यो कलेज मधेश प्रदेशका प्रमुख निजी मेडिकल शिक्षण संस्थामध्ये एकका रूपमा परिचित छ।

प्रहरीले प्रकरणबारे थप तथ्य सङ्कलन तथा कानुनी प्रक्रिया अगाडि बढिरहेको जनाएको छ। अनुसन्धान निष्कर्षमा पुगेपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक