इबोलाको नयाँ प्रजातिविरुद्ध खोप निर्माणमा तीव्रता
हेल्थपत्र
लण्डन , २० जेठ । अफ्रिकी मुलुक कंगो र आसपासका क्षेत्रमा फैलिएको इबोला भाइरसको एउटा दूर्लभ प्रजातिले महामारीको रूप लिन थालेपछि वैज्ञानिकहरू यसको नियन्त्रणका लागि खोप निर्माणको तीव्र दौडमा जुटेका छन्।
अहिलेसम्म झण्डै २५० जनाको ज्यान लिइसकेको यो प्रजातिविरुद्ध हाल विश्वका तीनवटा ठूला वैज्ञानिक समूहहरूले छुट्टाछुट्टै खोप विकास गरिरहेका छन्। महामारीको पछिल्लो अवस्थालाई हेरेर भ्याक्सिन विकासमा संलग्न अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन पहल (आईएभीआई) ले यो प्रकोप इतिहासकै सबैभन्दा खराब हुनसक्ने चेतावनी दिएको छ।
अहिले डीआर कंगोमा इबोलाका १ हजारभन्दा बढी शंकास्पद बिरामी फेला परिसकेका छन् भने छिमेकी देश युगान्डामा पनि नौ जनामा यसको संक्रमण पुष्टि भएको छ। यो नयाँ प्रकोप सीमित स्वास्थ्य पूर्वाधार भएको द्वन्द्वग्रस्त क्षेत्रमा फैलिएपछि मात्र पहिचान भएकाले स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।
यो महामारी सन् २०१४ देखि २०१६ को बिचमा पश्चिम अफ्रिकामा फैलिएको इतिहासकै सबैभन्दा ठुलो इबोला प्रकोप जत्तिकै भयानक हुन सक्ने डर पैदा भएको छ। त्यतिबेला झण्डै २९ हजार मानिस संक्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।
महामारीको संवेदनशीलतालाई बुझेर खोप अनुसन्धानका लागि आर्थिक सहयोग उपलब्ध गराइरहेको संस्था कोअलिसेन् फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स (सेपी) ले अहिलेको अवस्थामा ‘प्रत्येक दिनको ठुलो महत्त्व रहने’ बताएको छ। आईएभीआईका प्रमुख डा. मार्क फेनबर्गले अवस्थाको गम्भीरता औंल्याउँदै भनेका छन्, ‘मलाई लाग्छ यो प्रकोप विगतको जस्तै वा त्योभन्दा पनि बढी गम्भीर बन्ने खतरा स्पष्ट देखिन्छ, त्यसैले खोप र अन्य नियन्त्रणका उपायहरू विकास गर्नु अहिलेको मुख्य प्राथमिकता हो।’
यसैगरी चिकित्सा क्षेत्रको परोपकारी संस्था मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले पनि स्थिति अत्यन्तै डरलाग्दो भएको र यति छोटो समयमा यसअघि कहिल्यै पनि यति धेरै बिरामी नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक