बदलिँदो जीवनशैलीले उच्च रक्तचापका विरामी बढदै
हेल्थपत्र
काठमाडौँ, १२ जेठ : वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको पाइएको छ ।
बदलिँदो जीवनशैलीका कारणले उच्चरक्तचापका विरामी बढिरहेको छन् ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा. अनुज भट्टचनका अनुसार अस्वस्थकर खानपान (अत्याधिक नुन र हानिकारक चिल्लो पदार्थको प्रयोग), शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा शहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको छन् ।
नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युहरुमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगहरूबाट मात्रै २७.३६ प्रतिशत मृत्यु हुने गरेको छ जसको प्रमुख कारण उच्च रक्तचाप रहेको उनले बताए ।
उच्च रक्तचाप विश्वव्यापी रूपमा एक गम्भीर जनस्वास्थ्य समस्याको रूपमा स्थापित भइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल विश्वभर करिब १.४ अर्ब मानिसहरू उच्च रक्तचापबाट प्रभावित छन् र यो सङ्ख्या निरन्तर बढ्दो छ ।
उच्च रक्तचाप प्रभावित व्यक्तिमध्ये पनि ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनविज्ञ रहेका छन् ।
विभिन्न उपायले उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै पनि करिब चार जनामध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ ।
उच्च रक्तचापको समयमै पहिचान गरे रोकथाम गर्न सकिने उनको भनाई रहेको छ ।
धेरै व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले उच्च रक्तचापलाई ‘मृत्युको मौन कारक’ पनि भनिन्छ ।
समयमै पहिचान तथा उपचार नभएमा यसले मुटुरोग, हृदयघात, मस्तिष्कघात, मृगौला रोग तथा अन्य जटिल स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकोले रक्तचापको नियमित जाँच गराउनु आवश्यक छ ।
नेपालमा उच्च रक्तचापको भार कम गर्न सवै एकजुट हुनुपर्ने महाशाखाका निर्देशक डा. भट्टचनले बताए ।
बच्ने उपाय
उच्च रक्तचापको रोकथाम र नियन्त्रणमा गर्नका लागि ३० वर्षभन्दा माथि उमेरका सबैले वर्षमा कम्तीमा एकपटक नियमित रक्तचाप जाँच गराउन, नुन, चिल्लो तथा प्रशोधित खाना घटाई ताजा फलफूल र तरकारी सेवन बढाउनुपर्दछ ।
यस्तै दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिन समेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।
चिकित्सकको परामर्श मात्र औषधि सेवन गर्नुपर्दछ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक